एक लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य सहित बीसीएचले गाला डिनर गर्दै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ भुटनीज कम्युनिटी इन ह्यारिसबर्ग (बीसीएच) ले आफ्ना चार योजनाका लागि एक लाख अमेरिकी डलर उठाउने लक्ष्य सहित गाला डिनर गर्ने भएको छ।
बीसीएचका अध्यक्ष तिलक निरौलाका अनुसार जुलाई २८ तारिख आइतबार साँझ ह्यारिसबर्ग क्याम्पहिलमा रहेको ‘पेन ह्यारिस होटेल’ मा गाला डिनर हुने छ।
‘यो ऐतिहासिक कार्यक्रम हुने छ।’ समाज टाइम्स सँग अध्यक्ष निरौलाले भने, ‘अमेरिकामा यो लेबलको कार्यक्रम हाम्रो समुदायमा भएको जस्तो लाग्दैन।’
‘पेन्सिल्भेनियाको गभर्नर जस शापिरो,अमेरिकी सिनेटर बब केसी जूनियर लगायतका विशिष्ट व्यक्तिहरूलाई हामीले अतिथिको रूपमा आमन्त्रण गरेका छौ, उहाँहरूले उपस्थिति हुने बचन दिनु भएको छ, यस कारण पनि हाम्रो कार्यक्रम झन् विशेष हुने छ।’ अध्यक्ष निरौलाले भने।
अध्यक्ष निरौलाका अनुसार कार्यक्रममा उपस्थित हुन प्रतिव्यक्ति पाँच सय डलर टिकट मूल्य तोकिएको छ। ‘हामीले लिएको हलको क्षमता तीन सय पचास जनाको छ, एक जनाको टिकट पाँच सय तोकिएको छ, टेबलको टिकट मूल्य तीन हजार तोकिएको छ, एउटा टेबलमा सात जना सम्म रहन सक्छन्।’ उनले भने।
‘हाम्रो लक्ष्य एक लाख डलर संकलन गर्नु हो, टिकट लगभग बिक्री भइसकेको छ।’ अध्यक्ष निरौलाले भने,’यो हाम्रो उद्देश्य विशुद्ध समाजसेवा हो, हामी चार वटा काम गर्नका लागि यो आर्थिक सहयोग अभियान चलाउँदै छौ।’
उनले सबैलाई गाला डिनरमा सहभागी हुन अपिल गरे। ‘हाम्रो कोष सङ्कलन लागि आयोजना गरिएको गाला एक अविस्मरणीय साँझको लागि हामीसँग सामेल हुनुहोस्, यो प्रेरणादायक कथाहरू, सांस्कृतिक प्रदर्शनहरू, व्यवसाय र समुदायका नेताहरूसँग जोडिने अवसर पनि हो।’ निरौलाले भने।
‘हाम्रो फोकस र प्राथमिकताका चार प्रमुख क्षेत्रहरूलाई समर्थन गर्न आवश्यक रकम जुटाउनको लागि हो।’ अध्यक्ष निरौलाले भने।
निरौलाका अनुसार मानसिक स्वास्थ्य, युवा संलग्नता, महिला सशक्तीकरण र सांस्कृतिक उत्सव र प्रवर्द्धनमा सङ्कलित रकम खर्च गरिने छ।
‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा छलफल तथा चेतना जगाउन समुदायलाई संलग्न गराउन गरिँदै आएको कार्यक्रमलाई निरन्तरता दिनु छ।’ निरौलाले भने ।
यस्तै युवाहरूलाई समुदायको भावी नेता बन्न प्रशिक्षण अवसरहरू प्रदान गर्ने, महिलाहरूलाई समाजको नेतृत्व र परिवर्तनकर्ता बन्न शिक्षा, स्रोत र अवसरहरू प्रदान गर्ने कार्यक्रमहरू सिर्जना गर्ने, चाडपर्व, सांस्कृतिक कार्यक्रम, कार्यशाला र शैक्षिक कार्यक्रमहरू मार्फत समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष निरौलाले बताए।