सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको महत्त्व

लेखनाथ गौतम/
टेक्सस/ प्रवासमा आफ्नो जरो वा पृष्ठभूमिको पहिचान अनिवार्य हुन्छ। नत्र मान्छे प्रवासमा हराउँछ र अस्तित्वविहीन बन्न जान्छ। मान्छे चिनिने भनेको आफ्नो भाषा, धर्म र संस्कृतिले हो। यी मानव जीवनका गहना हुन्। नयाँ परिवेशलाई आत्मसात् गर्दै आफ्नो जरो किलो प्रति सजग रहँदै त्यसको अपनत्व ग्रहण गर्न सक्ने नागरिक तयार गर्नु यस्ता कार्यक्रमहरूको मुख्य काम हो।
हाम्रो संस्कार भनेको आफू भन्दा ठुलालाई आदर, सानालाई माया, आमाबाबालाई भगवानको रूपमा ग्रहण गर्दै सम्मान, गुरुहरूलाई आदर, परिवार प्रति उत्तरदायी हुनु हो। व्यक्ति भन्दा परिवार र परिवार भन्दा समाज ठुलो हो भन्ने संस्कार हाम्रो हो। अरूलाई आदर सम्मान गर्नु पनि हाम्रो संस्कार भित्र पर्छ।
त्यस्तै हाम्रा राम्रा कुरा र संस्कारहरूलाई प्रवासमा रक्तनलिहरुले जसरी मुटुमा रगत पुराउँछन्, त्यसै गरी हाम्रा राम्रा संस्कार र संस्कृतिहरूलाई हाम्रो अन्तर्मनसँग जोड्ने काम भाषाले गर्छ। भाषा बिर्सिनु आफैलाई, आफ्नो माटोलाई, आफ्नो धरातललाई र आफ्नो जरोलाई बिर्सिनु हो।
भाषाकै माध्यमबाट हामीले नेपाल र नेपाली मात्र होइन हाम्रो पहिचानलाई जोगाउन सकिन्छ। यस्ता क्याम्पहरूले भाषालाई खालि एकार्कासँग बोलचाल गर्ने माध्यमको रूपमा लिने परिपाटी सही होइन भन्ने बुझाउन मद्दत गर्छ। आफ्नो भाषा बोल्नेसँग जति छिटो आत्मीयता बढ्छ, त्यो अन्य तरिकाले बढ्न सक्दैन।
अमेरिकामा रहेका धेरै समुदायहरू मध्ये नेपाली समुदाय भर्खर बढ्दै गएको समुदायमा पर्छ। तर भारत र अन्य कतिपय देशका मान्छेहरूले कैयौँ पुस्तासम्म पनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाएर राखेका छन्।
नेपालीहरूमा भने आफ्नो भाषा र धर्म प्रति गर्व भन्दा ग्लानि अनुभव गर्ने, अंग्रेजी बोल्न जान्यो भने संसार नै जिते जस्तो गर्ने, आफ्नो संस्कारलाई रुढीवादीको संज्ञा दिँदै यसका सकारात्मक कुराहरूलाई पनि नअपनाउने प्रवृत्ति पाइन्छ। यसले गर्दा अर्को पुस्तासम्म पुग्दा नै नेपालीहरू धर्म, भाषा र संस्कृति विमुख हुने खतरा बढ्दै गएको छ। यस्तो विकराल अवस्थालाई केही भए पनि सुधार गर्न यस्ता अभियानहरू निरन्तर गर्न अत्यावश्यक छ।
यसको लागि हाम्रो धर्म र संस्कृतिको सकारात्मक प्रचार गर्ने र रुढीवादी प्रवृत्तिको अन्त्य एवम् विभाजनकारी र अन्योल सिर्जना गर्ने कामहरू बन्द गर्नु पर्छ। हाम्रा चाडबाडलाई समयानुकूल समायोजन र वैज्ञानिक बनाउनु पर्छ। यसको लागि समाजका अगुवाहरूले एक ठाउँ केन्द्रित भन्दा पनि टोलटोल केन्द्रित साना साना कक्षाहरू सञ्चालन गर्नु पर्छ। ठुलो भैसकेको नेपाली समाजको लागि यो अत्यावश्यक भैसकेको छ।
गुरु चिन्तामणि योगीकै शब्द सापट लिने हो भने मान्छेको बुद्धि भएर पनि विवेक भएन भने, धन भएर पनि संस्कार भएन भने, सिप भएर पनि आफ्नो धर्म र संस्कृति विहीन छ भने, पढेर पनि आध्यात्मिक चिन्तन र चेतना भएन भने त्यो मान्छे प्राकृतिक हुन सक्दैन। उ फगत आर्टिफ़िसियल हुन्छ, नक्कली हुन्छ। हामीले अर्को पुस्तालाई हाम्रो धर्म संस्कृति हस्तान्तरण गर्न सकेनौँ भने हाम्रो पहिचान र इतिहास समाप्त हुन्छ। त्यसैले पनि यस्ता क्याम्पहरू र कार्यक्रमहरू अत्यन्त आवश्यक छन्।
यसो गौरवपूर्ण काम गरेकोमा नेपाली समाज टेक्ससलाईई धन्यवाद दिनै पर्छ। आगामी दिनमा नेपाली समाज टेक्ससले यो दायरा फराकिलो पार्दै अन्य ठाउँहरूमा पनि विस्तार गर्ने कुरामा आशा गरौँ। त्यसै अहिले भएका कमीकमजोरीहरूलाई पनि आगामी दिनमा हटाउने र यो क्याम्पलाई रोटेट गर्दै वर्ष भरिनै सञ्चालन गर्ने तर्फ ध्यान दिनेछ भन्नेमा यहाँको समुदाय आसावादी छ।