उपसभामुख रानामगरले भिसाको अग्रिम मिति आग्रह गर्दा आर्थिक लेनदेन नभएको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ ।
रास्वपाले आइतवार विज्ञप्ति निकालेर भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले निकाल्नुभएको विज्ञप्तिमा उपसभामुख रानामगरले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रबारे जानकारी पाउने बित्तिकै सोधखोज गरेको उल्लेख छ । रास्वपाले विभिन्न कूटनीतिक निकाय एवम् जानकारसँग बुझ्दा धेरै राजनीतिक दलका नेताले अन्तर्वार्ता मिति मात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पनि बताएको छ ।
