विश्वकपको सेमिफाइलनमा भारत र इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने

पेन्सिल्भेनिया । आइसीसी टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो पटक दुई राष्ट्र अमेरिका र वेस्टइन्डिजमा आयोजना भएको टी–२० विश्वकपमा २० टिमको सहभागिता रहेको थियो ।
पाँच पाँच टिमको चार समूहबाट शीर्ष २ टिमले सुपर ८ मा प्रतिस्पर्धा गरेका थिए । यो विश्वकपमा एशोसिएट राष्ट्रको हैसियतमा नेपाल, अमेरिका र ओमान र क्यानडाले खेलेका थिए । अमेरिका विश्वकप आयोजक राष्ट्र पनि हो ।
अमेरिकामात्रै एशोसिएट राष्ट्रबाट सुपर ८ मा पुगेको थियो । तर, अमेरिकाको सुपर ८ को यात्रा अघि बढ्न सकेन । समूह १ मा भारत, अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेश रहेका थिए । यो समूहबाट भारत र अफगानिस्तान शीर्ष २ मा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
भारतले पहिला नै सेमिफाइनलको यात्रा तय गर्न सफल भए पनि अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेश सबैको सेमिफाइनल पुग्ने सम्भावना रहेको थियो ।
मंगलबार अफगानिस्तान र बंगलादेश भिड्दा १२.१ ओभर भित्र लक्ष्य पूरा गर्दा बंगलादेश आफै सेमिफाइनलमा पुग्ने समिकरण थियो भने अफगानिस्तानले हार्दा मात्रै अस्ट्रेलियाको सम्भावना रहेको थियो । तर, जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै अन्ततः विश्वकप क्रिकेटमा पहिलो पटक अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।
सुपर ८ को अर्को समूह अर्थात २ बाट दक्षिण अफ्रिका र इंग्ल्याण्ड पुगेका छन् । यो समूहबाट दुवै घरेलु टोली वेस्टइन्डिज र अमेरिका विदा भएका हुन् ।
अब सेमिफाइनलमा भारत र इंग्ल्याण्ड भिड्दा दक्षिण अफ्रिका र अफागानिस्तान आमने सामने हुने छन् । अब पहिलो सेमिफाइनल खेल अमेरिकी समय अनुसार २६ जुन विहान साढे ८ बजे अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दा सोही दिन साढे १० बजे इंग्ल्याड र भारत आमने सामने हुने छन् ।