वोस्टनमा अर्जेन्ट कियर खुल्यो
कृष्णराज खनाल
वोस्टन । वोस्टनका नेपाली मूलका केही उत्साही युवाले छिटो र छरितो उपचार हुने अमेरिकन फ्यामिली केयर (अर्जेन्ट केयर) खोलेका छन् । वोस्टनको नरउडमा स्थापना गरिएको अर्जेन्ट केयर जून १९ बुधवारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । मंगलवार एक समारोहबिच सोको उद्घाटन गरिएको थियो ।
अमेरिकामा नेपालीहरूले खोलेको संभवत यो पहिलो अर्जेन्ट केयर हो । अर्जेन्ट केयरका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेल र मेडिकल डाइरेक्टर डा. अशोक देवकोटाले संयुक्तरुपमा सो केयरको उद्घाटन गरेका हुन्।
यो केयर अमेरिकन फ्यामिली केयरको फ्रेन्चाइज हो ।
अर्जेन्ट कियरमा हल्का अर्थात् सामान्य खालका, तत्काल शल्यक्रिया गर्न नपर्ने र औषधि खाएर निको हुने रोगका लागि छिटो र छरितो उपचार हुने गर्दछ । को पे पनि लिइने भएकोले ५० । ६० डलरमा यसबाट चिकित्सकीय उपचार पाइन्छ । अर्जेन्ट कियरमा उपचारका लागि जानका लागि समय पनि लिनु नपर्ने, अस्पतालमा जस्तो धेरै समय पनि नलाग्ने र धेरै पैसा लाग्ला कि भन्ने डर पनि नलाग्ने भएकोले अमेरिकाका धेरै स्थानमा यो केयर सञ्चालनमा छ ।
नेप्रस इन्कका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेलका अनुसार, सो केयरमा सामान्यतया रुघाखोकी, घाँटी, कान वा दाँत दुखेको, मूत्रनलीमा संक्रमण, खोप, ल्याब परीक्षण, सानोतिनो चोटपटक, फ्लु सट जस्ता उपचार र परीक्षण हुनेछ ।
पौडेलका अनुसार, सो केयरमा सबै खाले इन्सुरेन्स स्वीकार गरिन्छ । सो इन्कले न्यूह्याम्पसायरको हडसनमा पनि यस्तै खाले केयर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ ।
अर्जेन्ट केयर सञ्चालनमा आएपछि आफू निकै खुसी भएको बताउँदै यसबाट धेरै मानिसहरू लाभान्वित हुनेछन् पौडेलले बताए। यो सेवा र व्यवसाय दुवै हो उनले भने।
‘यो सेवा उद्योग हो तर समाजलाई परेको बेलामा सकारात्मक सहयोग गर्न सक्छौँ भन्ने उद्देश्यले नै हामीलाई सञ्चालनको यो स्थितिसम्म ल्याइपुर्याएको हो’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, ‘यो क्षेत्रमा नेपालीहरूकै पहिलो भएकोले हामी उत्साहित पनि छौँ र यो हाम्रा लागि एक चुनौती पनि हो।’