‘दर्शकलाई खुसी दिन सकेनौँ,अर्को म्याचमा गल्ती दोहोर्याउदैनौ’: सोमपाल कामी

बिष्णु हरि घिमिरे
ग्राण्डप्रेरी, डालस/ राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले नेदरल्याण्ड विरुद्धको खेलमा दर्शकलाई खुसी दिन नसकेको बताएका छन्। उनले अब हुने म्याचमा नेदरल्याण्ड सँगको जस्तो गल्ती नदोहोर्याउने पनि बताए।
अमेरिकाको टेक्सस राज्यको ग्राण्डप्रेरी कम्प्लेक्समा मंगलवार सम्पन्न आइसीसी टी २० पुरुष विश्व कप क्रिकेट अन्तर्गत नेदरल्याण्ड सँगको खेलमा हार पछि आयोजित पत्रकार सम्मेलनमा सोमपालले भने, ‘हामीले खुसी दिन सकेनौँ।’
दोस्रो पटक विश्व कप खेलेको नेपाल सोमवारको खेलमा नेदरल्याण्ड सँग ६ विकेटले पराजित भएको थियो।
सोमपालले राम्रो लक्ष्य दिन नसकेको स्वीकार गरे। ‘यस्तो कन्डिसनमा टसले धेरै नै भूमिका खेल्छ। तर पनि हाम्रो हातमा टस नियन्त्रण थिएन। हामीलाई पहिला ब्याटिङको निम्तो भएपछि हामीले यो विकेटमा जति सक्दो धेरै रन बनाउने जिम्मेवारी हुन्छ। तर हामीले राम्रो लक्ष्य दिन सकेनौँ।’ उनले भने, ‘तर ब्याटिङ सजिलो भने थिएन। यो विकेटमा ब्याटिङ गर्न कहीँ न कहीँ गाह्रो थियो। कन्डिसन पनि त्यस्तै थियो। २०-३० रन कम भएको मलाई लाग्छ। त्यो रन बनाउन सकेको भए हाम्रो पक्षमा लय आउँथ्यो।’
पावर प्लेमा राम्रो गर्न नसकेको पनि उनले बताए। ‘हामीले टी-२०मा गर्न पर्ने ब्याटिङ जस्तै गरी गरेका हौँ। पावर प्लेमा हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ। उनीहरूले राम्रो बलिङ गरेकाले ब्याटरले राम्रो गर्न सकेनौँ।’ पत्रकार सम्मेलनमा उनले भने।
सोमपालले पटक पटकको क्याच मिस हुनुलाई खेलको टर्निङ्ग प्वाइन्ट भन्न नमिल्ने तर अर्को खेलमा गल्ती नदोहोर्याउने बताए। ‘सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। कोही पनि फिल्डरले क्याच समाप्त नै जान्छ। तर पनि मिस्टेक हुन्छ। मिस्टेकबाट सिक्न पर्छ। हामीले म्याचमा एक क्याच समाप्त अभ्यासमा हजार क्याच गरेका हुन्छौ। हामीले वान बल ब्याटल हार्न पुगेका हौँ।’ सोमपालले भने, ‘हामी अर्को खेलमा यस्ता मिस्टेक दोहोर्याउदैन। क्याच मिसलाई टर्निङ प्वाइन्ट भन्न मिल्दैन। तर क्याच समातेको भए उनीहरूलाई केही दबाब भने हुन्थ्यो।’
उनले पहिलो खेलबाट आफूहरू कुनै दबाबमा नपरेको पनि बताए। ‘हामीलाई कुनै दबाब छैन। हामीलाई छनोट हुन दबाब थियो। यहाँ हामी प्रमाणित गर्न आएका हौँ। सुपर-८ मा लायक छौँ भन्ने प्रमाणित गर्न आएका हौँ। विश्वकप खेल्न हामीलाई बोलाइएको होइन हामी छनोट भएका हौँ। मिहिनेत गरेर यहाँ पुगेका हौ। हामीलाई कसैले पनि बोलाएको होइन।’
सोमपालले जित्ने अपेक्षा गरिएको खेलमा राम्रो गर्न नसकेको भने स्वीकार गरे। ‘यो खेल जित्ने अपेक्षा थियो। यसमा हामीले राम्रो गर्न सकेनौ।’ उनले भने,’ हाम्रा समर्थकहरू हामीले जितेको हेर्न चाहनुहुन्छ। हामी पनि जित्न प्रायस गर्छौँ। हजारौँ दर्शक यहाँ आउँदा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले खुसी दिन सकेनौँ। तर हामीले शतप्रतिशत दिएका थियौँ। हामी बाँकी खेलमा ठुला टोलीलाई हराएर खुसी पनि दिनेछौँ।’
उनले दर्शकको समर्थककै कारण आफूहरू यो स्थान सम्म आइपुगेको पनि बताए। ‘नेपाल बाहिर यति धेरै दर्शन आउँदा धेरै उत्साह हुन्छ। समर्थकको विश्वासले यहाँसम्म आइपुगेका हौँ। विगत दश वर्षदेखि खेलिरहेको छु। उहाँहरूको विश्वासले यहाँ आएका हौँ। अब बाँकी खेलमा राम्रो खेलेर जितेर नेपालीलाई गर्व गराउनेछौँ।’
यसै गरी अर्का खेलाडी करण केसीले खेलमा साना साना गल्ली गर्न पुगेको स्वीकार गरे।
‘यो विकेट मध्यम गतिका बलरका लागि राम्रो छ। त्यहीँ भएर हामीले चार जना मध्यम गतिका बलर लिएर खेल्यौँ। तर हामीले खेलमा स-सना गल्तीहरू गर्न पुग्यौँ।’ केसीले भने, ‘तर हामी यहाँ हामी बलिङ र ब्याटिङ गर्न सक्छौँ भन्ने प्रमाणित गर्न आएका हौँ।’
‘नेपाली दर्शकका लागि धेरै आभारी छौँ। जहाँ हामी गए पनि समर्थक आएर समर्थन गर्छन्। यसमा धेरै खुसी लाग्छ।’ केसीले भने।
फोटो क्यान