मेजर लिग सकरमा फिलाडेल्फिया र टोरन्टोले अंक बाँडे

पेन्सिल्भेनिया । मेजर लिग सकर (एमएसएल) मा फिलाडेल्फिया युनियन र टोरन्टोले अंक बाँडेका छन् । वुधवार साँझ भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
फिलाडेल्फियाको घरेलु मैदान सुबारु पार्क पार्कमा दुवै टिमले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए पछि एक एक अंकमा चित्त बुझाए । बराबरीसँगै टोरन्टो २३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने फिलाडेल्फिया युनियन १९ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।
यसैगरी अर्को खेलमा नासभिलेजले सिनसिनाटीलाई २–० गोल अन्तरले पराजित गरेको छ । नासभिलेजका ज्याक महेरले २५ औं तथा ज्याकोब सेफलबर्गले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
जितसँगै नासभिलेज १९ अंकका साथ नवौं स्थानमा उक्लिएको छ भने पराजित भएको सिनसिनाटी ३३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । त्यसैगरी लियोनल मेस्सीको इन्टर मियामी पराजित भएको छ । शीर्ष स्थानको मियामी एटलान्टा युनाइटेडसँग ३–१ गोल अन्तरले स्तब्ध भएको हो ।
मियामीका लागि लियोनल मेस्सीले गोल गरे पनि हार टार्न पर्याप्त भएन ।
एटलान्टाका लागि सबा लोब्जानिद्जोले ४४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले व्यक्तिगत दोस्रो गोल गर्दा एटलान्टाले ५९ औं मिनेटमा अग्रता दोब्बर बनायो ।
६२ औं मिनेटमा मेस्सीले गोल फर्काउँदै अन्तर २-१ मा झारेका थिए । ७३ औं मिनेटमा जमाल ताहिरले गोल गरेपछि अन्ततः एटलान्टा ३–१ गोल अन्तरले विजयी भयो ।
पराजित भएको इन्टर मियामी ३४ अंकका साथ शीर्ष स्थानमा रहँदा एट्लान्टा १६ अंकका साथ ११ औं स्थानमा छ ।
फोटो: फिलाडेल्फिया युनियनको ट्विटरबाट