गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।
सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमवार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
मुख्यमन्त्री नियुक्त पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।
तर पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन । खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको दुई सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेलाई साथ दिए पनि एक जना अझै आवश्यक पर्छ । खगराज अधिकारी नेतृत्वमा रहेको सरकारमा मन्त्री रहेका दीपक मनाङेले पनि मत दिने र विश्वासकाे मत पाउने कांग्रेसको भनाइ छ ।