तेक्वान्दोमा ‘हिङमाङको’ छलाङ
पेन्सिल्भेनिया/ गत अप्रिलमा १० तारिख स्थापनाको पहिलो वर्ष मनाएको थियो, हिङमाङ तेक्वान्दो एकेडेमीले। अमेरिकाको पेन्सिल्भेनयाको राजधानी ह्यारिसबर्गको पारी पट्टी मेकानिसबर्गमा रहेको हिङमाङ तेक्वान्दो एकेडेमीमा मे २० तारिख खेलाडी तथा अभिभावक आपसमा खुसी बाँड्दै थिए।
खुसी बाँड्नुको कारण थियो गत शनिवार मेरील्याण्डको बाल्टिमोरमा भएको दोस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा प्राप्त सफलता।
४१ स्कुलको सहभागी रहेको च्याम्पियनसिपमा हिङमाङ खुल्ला डिभिजनमा प्रथम भएको थियो। साँढे चार सय भन्दा बढीले भाग लिएको भनिएको च्याम्पियनसिपमा हिङमाङबाट ५१ जनाले भाग लिएका थिए।
हिङमाङका सञ्चालक तथा मुख्य प्रशिक्षक डेक दर्जीका अनुसार च्याम्पियनसिप सहभागी आफ्ना स्कुलका सबै खेलाडीले पदक जिते। ‘हामीले २८ स्वर्ण,२८ रजत र २४ कांस्य पदक जित्यौ, ६ जनाले दोहोरो पदक जिते, हाम्रा लागि यो खुसीको कुरा हो।’ दर्जीले भने।
खेलाडी बिचमा खुसी बाँड्न प्रशिक्षक दर्जीले सोमबार नियमित कक्षा चलाएनन्। उनले च्याम्पियनसिपका बारेमा खेलाडीहरूका अनुभव सुनाउन भने।
अभिभावकले पनि आफ्ना गुनासा राखेका थिए। प्रतियोगिता अलिक अव्यवस्थित भएको, भिडभाड हुँदा र कोच बिना नै खेल्दा केही खेलाडीले सम्भावना भएर पनि खेल जित्न नसकेको उनीहरूको गुनासो थियो।
यद्यपि प्राप्त सफलतामा सबै खुसी देखिएका थिए। उनीहरूले आपसमा बधाई साटासाट गरे। अभिभावकले खेलाडीलाई खादा लगाइदिए अनि चकलेट बाँडेर रमाइलो गरे।
प्रशिक्षक दर्जीले आफ्नो खेलाडीले जम्मा तेस्रो प्रतियोगिता खेलेको बताए। ‘ यस अगाडी हामीले ग्लोबल इन्टर स्कुल प्रतियोगिता र हिमालयन ओपन खेलेका थियौ, सबै भन्दै धेरै पदक जितेको यो पहिलो पटक हो।’ उनले भने।
प्रशिक्षक दर्जीले नौ जना बाहेक अन्य सबै जना खेलाडीले आफ्नै स्कुलबाट तेक्वान्दो खेल्न सुरु गरेको बताए। ‘ अन्यत्रबाट बसाई सरेका कारण नौ जना खेलाडीले हाम्रोमा भन्दा पहिला पनि तेक्वान्दो सिकेका थिए,अरू सबै सुरु देखि नै हाम्रोमा प्रशिक्षण लिएका हुन्।’ प्रशिक्षक दर्जीका अनुसार ती नौ जनामा धेरै जना हिमालयन तेक्वान्दो ह्यारिसबर्गका छन्।
प्रशिक्षक दर्जीले मेरील्याण्डमा प्राप्त सफलताले आफ्नो स्कुलको प्रगति भएको देखाएको र जिम्मेवारी पनि बढेको महशुश भएको बताए। ‘अझ राम्रो गर्नु पर्छ भन्ने भएको छ।’ उनले भने।
दर्जी भुटानको साम्ग्राङ्मा जन्मिएका हुन्। भुटान सरकारले नेपाली भाषीलाई देश निकाला गर्ने क्रममा उनी पनि अभिभावक सँगै सन् १९९० मा नेपाल आएका हुन्।
शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत सन् २०१० मा अमेरिका आएका दर्जी सुरुमा म्यासाचुसेट्स राज्यमा बसोबास गर्थे। २०२१ मा मात्र उनी पेन्सिल्भेनिया बसाई सरेका हुन्।
‘मैले नेपालमा नै तेक्वान्दो सिकेको हुँ तर अमेरिका आए पछि, नेपालमा पाएको ब्ल्याक बेल्ट रिभ्यालुलेशन भएन फेरि, डेढ वर्ष कोरियाली ग्राण्ड मास्टर पार्क सिके।’ दर्जीले भने।
उनले आफूले तेस्रो डिग्री हिमालयन तेक्वान्दो ह्यारिसबर्गमा प्रशिक्षक मास्टर कुमार कार्कीबाट लिएको बताए।
‘तेक्वान्दोमा भविष्य छ भनेर नकुलकै सल्लाहमा मैले स्कुल खोलेको हुँ।’ समाज टाइम्स सँगको कुराकानीमा दर्जीले भने,’ हिमालयन तेक्वान्दोमा मैले केही समय भोलेन्टरी काम पनि गरे, त्यस पछि नकुलले मेकानीसबर्गमा स्कुल खोल्न सल्लाह दिए अनुसार अगाडि बढे।’
‘स्कुल खोल्न मेरो ४० प्रतिशत योगदान छ भने, नकुल शर्माको ६० प्रतिशत योगदान छ।’ दर्जीले भने।
आफ्नो स्कुलमा अहिले ७० जना खेलाडीले नियमित प्रशिक्षण गर्ने गरेको प्रशिक्षक दर्जीले बताए। दर्जीका अनुसार प्रति खेलाडी महिनामा एक सय दश डलर शुल्क लिने गरेको छ। हप्तामा तीन दिन प्रशिक्षण हुन्छ।