सर्वोच्चको फैसलाको पूर्ण पाठ पछि ओएनएफ अमेरिकाले एनआरएनए बारे धारणा बनाउने
पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाले गैर आवासीय नेपाली संघ (एनआरएनए) बारे सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ पछि धारणा सार्वजनिक गर्ने भएको छ।
ओएनएफ अमेरिकाको शनिवार सम्पन्न विस्तारित बैठकले सो निर्णय गरेको हो।
‘एनआरएनएको सम्बन्धमा अदालतले गरेको फैसलाको बारेमा बैठकमा व्यापक छलफल भयो र अदालतको निर्णयको पूर्ण पाठ सार्वजनिक भए पश्चात् सो सम्बन्धमा अध्ययन गरी ओएनएफ अमेरिकाले धारणा सार्वजनिक गर्ने निर्णय गरियो।’ बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै बैठकले आसन्न तेस्रो अधिवेशनको तयारी तथा सदस्यता वितरणका सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ।
ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा जुम मार्फत बसेको बैठकमा अमेरिका भ्रमणमा रहेकी नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख अतिथि रहेकी थिइन्।
बैठकलाई सम्बोधन चौधरीले आफू गत तीन वर्ष देखी लगातार अमेरिकाको भ्रमणमा आएको र हरेक पटक सङ्गठन सङ्गठित र बिस्तार भएको पाइएकोमा खुसी व्यक्त गरिन्।
उनले अमेरिकामा नेपाली समुदाय रोजगारीको साथसाथै व्यवसायमा तर्फ उन्मुख भएकोमा बताइन। अमेरिकामा रहेर पनि नेपाल र नेपाली राजनीति प्रति चिन्तित भएको पाएको अनुभव पनि चौधरीले सुनाएकी थिइन्।
उनले ओएनएफ अमेरिकाले सकारात्मक भूमिका निर्वाह गरी दोस्रो पुस्तालाई नेपालको राजनीति प्रति संलग्न गराउनु पर्नेमा सुझाव दिइन्।
बैठकका विशेष अतिथि ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले सङ्गठन विस्तारका लागि ४२ दिने विश्व भ्रमणको अनुभव सुनाएका थिए। उनले अन्तर्राष्ट्रिय कमिटीले गरेका निर्णयहरू समयमै कार्यान्वयन गर्न निर्देशन दिए।
थापाले एनआरएनएको सम्बन्धमा अदालतले गरेको निर्णय उचित नभएको भन्दै यसका सम्बन्धमा निकट हुने अन्तर्राष्ट्रिय कमिटीको बैठकबाट संस्थाको धारणा सार्वजनिक गर्ने बताउँदै अप्रिल २७ मा हुने टेक्सस राज्य कमिटीको अधिवेशन र ओएनएफ अमेरिकाको लस एन्जलसमा हुने साधारण सभाका व्यवस्थापन पक्षको ध्यान दिँदै प्रचार प्रसारमा जोड्दिन सुझाव दिए।
विशेष अतिथि ओएनएफ अन्तर्राष्ट्रिय सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापाले अन्तर्राष्ट्रिय कमिटीले गरेका निर्णयहरूको जानकारी गराउँदै, पार्टीको १०औँ महाधिवेशनमा अमेरिकाबाट गएका चार जना प्रतिनिधिलाई वैशाख ९ र १० ललितपुर हुने प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन अनुरोध गरे।
उनले सदस्यता नवीकरणको रेकड र सदस्यता शुल्क समयमै पठाउन पनि निर्देशन दिएका थिए। थापाले अमेरिकाले गरेका गतिविधिहरू प्रति आफू सन्तुष्ट भएको बताउँदै आगामी कार्यक्रमहरूको सफलताको शुभकामना दिए।
यस्तै बैठकमा अमेरिका महादेश संयोजक ईश्वरी भट्टले क्यानडा र अमेरिका अन्तर्गत सम्पन्न कार्यक्रमहरूको बारेमा समीक्षा गरेका थिए।
भट्टले महादेश कमिटीमा केही सक्रिय सदस्यहरूको मनोनीत गर्नु पर्ने भएकोले अमेरिकाबाट इच्छुकलाई सिफारिस गर्न भनेका थिए।
बैठकमा ओएनएफ अमेरिकाका उपाध्यक्ष एवं दोस्रो वार्षिक साधारण सभा आयोजक समिति संयोजक भीम ओलीले साधारण सभा सम्बन्धी व्यवस्थापनका विभिन्न पक्षको बारेमा बताएका थिए।
अध्यक्ष कृष्ण लामिछाने हाल गण्डकी प्रदेश पार्टी कार्यालय भवन खरिदका लागि, अन्तर्राष्ट्रिय भवन निर्माण सहयोग समितिको अनुरोधमा समिति गठन गरिएको जानकारी दिएका थिए।
समितिमा अमेरिकामा बसोबास गर्ने गण्डकी प्रदेश अन्तर्गतका सदस्यहरूलाई समेटेर भवन निर्माण सहयोग समिति अध्यक्ष लामिछानेको संयोजकत्वमा निर्माण भएको जानकारी दिए।
ओएनएफ अमेरिका सचिव छवि पाण्डेले क्यालिफोर्निया राज्य कमिटीको मार्च २९ मा सम्पन्न अधिवेशन र दोस्रो वार्षिक साधारण सभाको तयारी र स्थानीय एलए निवासी सदस्यहरूको भूमिका र दायित्वका बारेमा बताउँदै विस्तारित बैठकको सञ्चालन गरेका थिए।
बृहत् बैठकका निर्णयहरुः-
निर्णय. १. ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको निर्णयहरूको सर्कुलर अनुसार प्रवासी नेपाली मञ्च, अमेरिकाको सदस्यता नवीकरण तथा नयाँ सदस्यहरूको आर्थिक वर्ष २०८० र २०८१ गरी दुई वर्षको नवीकरण शुल्क एकै पटक यही अप्रिल १५ २०२४ सम्ममा अन्तर्राष्ट्रिय कमिटीमा बुझाउन आएको निर्देशनको कार्यान्वयन गर्ने निर्णय भयो ।
कतिपय सदस्यहरूको यस अवधिको नवीकरण नभएको देखिएकोले यसका लागि अमेरिकामा रहेका ४ क्षेत्रका उपाध्यक्ष र इन्चार्जले सम्बन्धित राज्यहरूमा सम्पर्क एवं समन्वयन गरी यथाशिग्र सदस्यता नवीकरण गरी केन्द्रमा बुझाउन निर्देशन गर्ने निर्णय गरियो ।
सदस्यता नवीकरण जिम्मेवारीहरू –
१. उत्तर पूर्वी छेत्रमा: उपाध्यक्षहरू भीम ओली, मैया ढुङ्गाना र उपसचिव कृष्ण आचार्य ।
२. मध्ये पश्चिम छेत्रमा : उपाध्यक्ष गोपाल कँडेल र उपसचिव थोमस बास्तोला ।
३. दक्षिण पश्चिममा : उपाध्यक्ष गोकर्ण दाहाल, सचिवालय सदस्यहरू विजय भट्टराई र भुवन अधिकारी।
४. डिसी मेट्रोमा: उपसचिव गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा बिक, मानार्थ सचिवालय सदस्य विजय बगाले र दीपक सापकोटा ।
निर्णय. २. क्यालिफोर्नियाको लस एन्जलस सहरमा यही मे २५ र २६, २०२४ मा आयोजित प्रवासी नेपाली मञ्च, अमेरिकाको तेस्रो अधिवेशन पश्चात् दोस्रो वार्षिक साधारण सभामा प्रमुख अतिथिको आतिथ्य नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली अमेरिका आउने निश्चित भइसकेकोले सो साधारण सभालाई व्यवस्थित सम्पन्न गर्न विभिन्न समितिहरू पहिले नै निर्माण गरी कार्य गरिरहेकोले धेरै भन्दा धेरै सदस्यहरूको सहभागिताको लागि प्रत्येक केन्द्रीय सदस्यहरूले आफ्नो आफ्नो छेत्रमा र राज्य कमिटीले आफ्नो राज्यबाट सदस्यहरूलाई सहभागी गराउन सबै सदस्यहरूसँग सम्पर्क र समन्वयन गर्न अनुरोध गर्ने र त्यसको जानकारी केन्द्रमा गराउने निर्णय गरियो |
निर्णय. ३. टेक्सस राज्य कमिटीको अप्रिल २७, २०२४ मा हुने अधिवेशन लाई भव्यरुपमा सम्पन्न गर्न त्यस छेत्रका सम्पूर्ण राष्ट्रिय कमिटी लगायत माथिल्लो र मातहतका सम्पूर्ण कमिटीले सहयोगमा जुटी अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न निर्देशन गरियो ।
निर्णय. ४ . एनआरएनएको सम्बन्धमा अदालतले गरेको फैसलाको बारेमा बैठकमा व्यापक छलफल भयो र अदालतको निर्णयको पूर्ण पाठ सार्वजनिक भए पश्चात् सो सम्बन्धमा अध्ययन गरी ओएनएफ अमेरिकाले धारणा सार्वजनिक गर्ने निर्णय गरियो।
साढे चार घण्टा चलेको बैठकमा प्रमुख अतिथि विशेष अतिथि सहित अन्तर्राष्ट्रिय सदस्य एवं महिला विभाग प्रमुख कुन्ती थापा, उपप्रमुख जानकी कार्की, अमेरिका महादेश संयोजक ईश्वरी भट्ट, महादेश सदस्य कृष्ण भण्डारी र महादेश सदस्य केशव राज लोहनी सहभागी थिए।
यस्तै अन्तर्राष्ट्रिय विभागका सदस्य राज थापा, अमेरिका सल्लाहकार प्रमुख डा. रुद्र अर्याल, सल्लाहकार सदस्य यमुना भट्टराई, अमेरिका विषय विज्ञ समिति प्रमुख डा. सतिस देवकोटा र सचिव डा. दिनेश देवकोटा, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए।
यस्तै टेक्सस राज्य कमिटीका अध्यक्ष सहित सदस्यहरू, न्यु योर्क राज्य कमिटीका सचिव, म्यासाचुटेस राज्य कमिटीका सल्लाहकार, ओहायो, आईओबा, केन्टुकी, पेन्सिल्भेनिया, मेरील्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, आर्कान्सस राज्य कमिटीका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको जाइएको छ।
बैठकमा ईन्जाका बिष्णु शीतल सहित ६८ जनाको सहभागिता रहेको जनाइएको छ।