इरानमा आतंकवादी हमला २७ जनाको मृत्यु
काठमाडौं । इरानको चाबहार र रस्क सहरमा आतंकवादी हमलाहुँदा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यसमा ११ सुरक्षाकर्मी र १६ सर्वसाधारणको मृत्यु भएको हो । १० सुरक्षाकर्मी घाइते भएका छन् । इरानको सरकारी सञ्चारमाध्यमले बुधबार राति आक्रमण भएको जनाएको छ । तर, यो जानकारी अहिले बाहिर आएको हो ।
आक्रमण जैश–अल–अदल आतंकवादीहरूले गराएको थियो। मृत्यु हुनेमा २ प्रहरी, २ सीमा सुरक्षाकर्मी र ७ सैनिक रहेका छन् । इरानका उप–आन्तरिक मन्त्री माजिद मिरहमादीले आतंकवादीहरूले चाबहारमा रहेको सीमा रक्षकहरूको मुख्यालय कब्जा गर्न चाहेको बताए ।
तर, उनीहरु आफ्नो योजनामा सफल हुन सकेनन् । इरानी सञ्चारमाध्यम इरनाले इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले अहिलेसम्म १५ आतङ्ककारी मारेको जनाएको छ ।
इरानमा आतंकवादी हमलापछि प्रहरी चौकी नजिकै धुवाँ उडेको देखिएको छ । पाकिस्तानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । पाकिस्तानी राजदूत मुदस्सिरले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, “इरानमा २ आतंकवादी हमलामा धेरै सुरक्षा अधिकारी मारिएका छन्। हामी आतंकवादविरुद्धको लडाइमा इरानको साथमा छौं।“
पाकिस्तान र अफगानिस्तानसँगको इरानको सीमामा लामो समयदेखि आतंकवादी हमला भइरहेका छन्। यस अवधिमा इरानी सैनिकहरू सुन्नी आतंकवादी र लागूऔषध तस्करहरूसँग धेरै पटक भिडिएका छन्। गत वर्ष डिसेम्बरमा इरानको रस्क सहरको एक प्रहरी चौकीमा आतंकवादीले आक्रमण गरेका थिए । जसमा ११ सुरक्षाकर्मी मारिएका थिए ।