ग्रेटर अस्टिन नेपाली समाजको निर्वाचनको वैधतामा प्रश्न
राउण्ड रक, टेक्सस/ ग्रेटर अस्टिन नेपाली समाजको पाँचौँ अधिवेशनको तैयारी भई रहँदा निर्वाचन आयोग र निर्वाचन प्रक्रियाको वैधता माथि नै सदस्यहरूले प्रश्न उठाएका छन् ।
ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को विधान अनुसार हरेक २/२ वर्षमा गरिनु पर्ने अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि कार्य समितिले २ देखि ५ जना सदस्यहरू रहने गरी निर्वाचन आयोग गठन गर्ने व्यवस्था रहेको छ । तर पाँचौँ अधिवेशनका लागि गठन गरिएको निर्वाचन आयोग ग्यान्सको कार्य समिति र यस अन्तर्गतको ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्रको संयुक्त बैठक आध्यात्मिक केन्द्रका संयोजक गेहेन्द्र केसीको अध्यक्षतामा बसेर निर्वाचन समिति गठन गरेको हो ।
संस्थाको विधान अनुसार आध्यात्मिक केन्द्रका संयोजक र संस्थाको अध्यक्ष बिच काम कर्तव्य र अधिकार समान भनेर उल्लेख गरिएको छैन । संस्थाले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको सूचना अनुसार २०२३ को नोभेम्बर १९ गते आध्यात्मिक केन्द्रका संयोजक गेहेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले गेहेन्द्र केसीलाई नै निर्वाचन आयोग प्रमुखमा चयन गरेको उल्लेख गरिएको छ।
यही विषयलाई लिएर निर्वाचन आयोगको वैधता माथि प्रश्न उठाइएको हो । यो लगायत निर्वाचन आयोगले तयार गरेको निर्वाचन प्रक्रियामा पनि सदस्यहरूले प्रश्न उठाएका छन् । मतदाता नामावलीको टुङ्गो नलाग्दै उम्मेदवारी आव्हान गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मिति आयोगले तोकेको छ ।
सदस्यहरूले संस्था विधि र प्रचलित प्रजातान्त्रिक पद्धति अनुसार नचलेको भन्दै निर्वाचन आयोगका काम कारबाहीको विरोधमा उत्रेका हुन ।हरेक दुई वर्षमा अधिवेशन हुनु पर्ने संस्थाको यो अधिवेशन झन्डै तिन वर्ष पछि हुन लागेको हो ।
संस्थाको कार्यशैली प्रति उठेका सवालमा प्रतिक्रिया लिन सम्पर्क गर्दा अध्यक्ष भोजराज भट्ट र उपाध्यक्ष कृष्ण जिसी बोल्न चाहेनन् । संस्थाको आर्थिक कारोबार पारदर्शी, र संस्था जिम्मेदार र जवावदेही बनाउन आफूले जोडदार आवाज उठाएको बताउँदै आफूले महासचिव पदमा उम्मेदवारी दिएको प्रदीप चौलागाँईले बताए ।