ब्राइटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आइतबार लिभरपुलसँग पराजित भएको ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।
ब्राइटनले लिभरपुलविरुद्ध सुरुआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो । डेनी वेलबेकले गोल गर्दै खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । २७ औं मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि मोहमद सलाहले ६५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुल अन्ततः २–१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो ।
आर्सनल र सिटीले अंक बाँडे
इंग्लिस प्रिमियर लिगमा आर्सनलले पुनः शीर्ष स्थानमा उक्लने अवसर भने गुमाएको छ । आर्सनलले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो ।
आइतबार राति घरेलु मैदान इथियाद स्टेडियममा खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पाएका अवसरमा गोल गर्न सकेनन् ।
आर्सनलले २९ खेलबाट २० खेलमा जित, ७ खेल बराबरी र तीन खेलमा पराजयसँगै ६५ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । सिटी समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।