मेरील्याण्ड स्टेट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट सहभागी सबैले जिते स्वर्ण
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ युएस तेक्वान्दो मेरील्याण्ड स्टेट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट सहभागी सबै खेलाडीले स्वर्ण पदक जितेका छन्।
शनिवार सम्पन्न च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट आठ खेलाडीले भाग लिएका थिए।
स्टेट च्याम्पियनसिप अमेरिकाको राष्ट्रिय प्रतियोगिताको ढोका हो। अमेरिकामा युएस तेक्वान्दो र एम्योच्चर एथलेटिक्स युनियन (एएयु) गरी दुई संस्थाले स्टेट र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्छन्। सोही प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी अन्ततः अमेरिकाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन्छन्।
स्टेट प्रतियोगितामा स्वर्ण र रजत पदक जित्ने खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन्।
मेरील्याण्ड स्टेट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट स्वर्ण जित्ने मध्ये तीन जनाले यस अगाडि एएयु भर्जिनिया स्टेट च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।
यस पटक हिमालयन तेक्वान्दोका खेलाडीले स्पेरिङ्मा स्वर्ण पदक जितेका हुन्। सुवर्ण शर्मा, नव्य शर्मा, सुसान मगर, सुजल मगर, तृष्णा मिश्र, शायुस मिश्र, रोशन सुब्बा र आइसिएज जिमिरेजले स्वर्ण जितेका हुन्।

हिमालयन तेक्वान्दोका सञ्चालक तथा मुख्य प्रशिक्षक नकुल शर्माले आफूहरूका लागि यो निकै खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्।

‘हिमालयन तेक्वान्दोका प्रशिक्षकहरू,अभिभावकहरू र समर्थकहरू सबैलाई धेरै गर्वको विषय हो, खेलाडीहरूको कडा परिश्रम र प्रतिबद्धताको प्रमाण हो, जसले अनगिन्ती घण्टाको प्रशिक्षण र आफ्नो शिल्पलाई सिद्ध गर्न खर्च गरेका छन्।’ शर्माले भने,’हामी खेलाडीलाई कडा परिश्रम जारी राख्न सुझाव दिन्छौ।’

प्रशिक्षक शर्माले अब यी खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने बताए। ‘हिमालयन तेक्वान्दोका खेलाडीहरू जुनसुकै परिस्थितिको सामना गर्न तयार छन् भन्ने कुरामा कुनै शङ्का छैन।’ शर्माले भने,’ टेक्ससमा जुन-जुलाईमा हुने युएस तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा हामी सहभागी हुन्छौ।’













