आजको संसद : सांसदका बासी प्रश्नमा प्रधानमन्त्रीका ‘रेडिमेड’ उत्तर(पूर्णपाठ)
गृहमन्त्रीको संरक्षण
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा करिब एक घण्टा लामो ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ चल्यो । १३ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुस्त भौतिक विकासदेखि गृहमन्त्री राजीनामा माग्ने लगायतका प्रश्न गरे ।
मंगलबारको बैठकमा सांसद गोकुल बास्कोटा, चन्द्र विश्वकर्मा, प्रसाद यादव, चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारी लगायतका प्रश्न गरे ।
प्रतिनिधि सभा नियमावली अनुसार, प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि समय छुट्याउने गरिएको छ ।
कार्यतालिकामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ भनिए पनि न सांसदहरुले ताजा प्रश्न गरे न त प्रधानमन्त्रीले आफ्नो वौद्धिकता प्रस्तुत गरे ।
प्रतिनिधि सभा नियमावलि अनुसार सांसदहरुले तीन दिन अगावै प्रश्न प्रधानमन्त्रीको कार्यालयमा दर्ता गराएका थिए भने प्रधानमन्त्रीको सचविालयका कर्मचारी सम्बन्धीत मन्त्रालयका कर्मचारीले उत्तर तयार पारेका थिए ।
यस्ता छन् सांसदका प्रश्न र प्रधानमन्त्री दाहालको जवाफको पूर्णपाठ
प्रश्न नं १
प्रश्नकर्ताः मा गोकुल बास्कोटा
प्रश्नको व्यहोरा
मध्य पहाडी क्षेत्रका जनताको लाइफलाईनको रुपमा विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको मध्य पहाडी पुष्पलाल लोकमार्गको उपयोगिता बढाउन यसको पुनः रेखाङ्कन गरी दूरी छोट्याउनका लागि सुरुङ र भौतिक भायडक्ट प्रविधिको प्रयोग गरी आउदो पाँच वर्षभित्र सडकलाई डेडिकेटड डवललेनमा स्तरीन्नती गर्ने सरकारको योजना सरकारको योजना छ की छैन ?
साथै, आज विश्वका कयौं देशहरुले ब्रेन गेन गरिरहेका छन् तर नेपाल चाहि ब्रेन ड्रेन गरिरहेको अवस्थामा छ र केवल अध्ययन कै लागि हजारौ नेपाली विद्यार्थीहरु विदेश गइरहेका छन्। यो अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित ओली सरकारकै समयमा नेपाली विद्यार्थीहरुलाई नेपालमै उच्च गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा स्थापित मदन भण्डारी विश्व विद्यालयलाई १३ हजार ७ सय रोपनी जग्गा उपलब्ध भइसकेको पनि वर्षौ वित्यो तर यसको निर्माण कार्य अझै शुरु हुन सकेन। यसको निर्माण गरिन्छ वा गरिदैन? गरिन्छ भने यसै वर्षबाट हुन्छ वा हुँदैन? स्पष्ट जवाफ चाहन्छु।
सँग सँगै यो पनि सोध्न चाहन्छु कि काभ्रे, रामेछाप, सिन्धुपाल्चोक जिल्लाको गेम चेन्जर परियोजनाको रुपमा मानिने सुनकोशी तेस्रो जलविद्युत आयोजनामा बंगालदेशसँगको सहकार्यमा अगाडि बढेको यहाँलाई अवगतै होला। सो परियोजनको अवस्था के छ र यसको निर्माण कार्यलाई तिव्रता दिने सरकारको योजना के कस्तो छ ?
काभ्रे जिल्लाको भुम्लु गाउँ पालिकाका वडा न ७ र ८ का जनताले नापीको समस्याको कारणले ५० वर्षदेखि आजसम्म जग्गाको पूर्जा पाइरहेका छैनन् के.पी. शर्मा ओलीको सरकारको पालामा सोही ठाउँमा पुर्जा वितरण भूमि कार्यको लागि कार्यालय स्थापना गरि कामसमेत अगाडि बडेको थियो तर हाल उक्त कार्यालय किन हटाइएको हो र त्यहाका जनतालाई जग्गा धनि पुर्जा कहिलेसम्म दिइन्छ ?
प्रश्न नं १ जवाफ
माननीयज्यूले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी विश्वविद्यालय, सुनकोशी तेस्रो जलविद्युत परियोजना र जनताले जग्गाधनी प्रमाणपत्र नपाएको विषयमा जिज्ञासा राख्नुभएको छ।
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङ्गदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म मध्यपहाडी भु–भागलाई यातायात सञ्जालमा जोडी आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, कृषि, उर्जा, शैक्षिकलगायत समग्र क्षेत्रको विकास गर्ने मूल रणनीतिक उद्देश्यले मेरो पहिलो कार्यकालमा २०६५ फागुन २६ गते मध्यपहाडी राजमार्ग निर्माणको रेखांकन गरिएको थियो।
मध्यपहाडी राजमार्गको कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म १२ सय ५९ किलोमिटर सडक डेडिकेटेड डबल लेनमा स्तरोन्नति भइसकेको छ भने १ सय ३७ वटा पुलमध्ये ३३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ। राजमार्गका कतिपय स्थानमा सुरुङ् तथा अग्ला पुलहरू निर्माण गरी राजमार्गलाई छोटो र सुरक्षित बनाउने विषय नेपाल सरकारको प्राथमिकतामा रहेको छ। निर्माण सम्पन्न भइसकेपछि आवश्यक र सम्भव भएका बाँकी स्थानमा डेडिकेटेड डबल लेनमा स्तरोन्नति गरिनेछ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा विश्वविद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी गराउँदछु।
सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको छ। दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको छ। आयोजनाको अध्ययन प्रतिवेदन, डिजाइन तथा ड्रइङ सम्बन्धी कागजातहरू बंगलादेश पक्षलाई उपलब्ध गराइएको छ।
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको बडा नं. ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा म जानकार छु। त्यस क्षेत्रमा २०३२÷३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवाद लगायतका कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन। पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरण लगायतका कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको छ। तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन दिइसकेको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।
प्रश्न नं २
प्रश्नकर्ताः मा. चन्द्र बहादुर विश्वकर्मा
प्रश्नको व्यहोरा
२०७४ साल देखि २०७८ सालमा सम्पन्न हुनेगरी सम्झौता भएको राप्तीराजमार्ग अन्तर्गत रुकुम पश्चिमखण्ड अन्तर्गत पितिवाङ्ग खोलाको सडक पुल, २०७७, सालमा सम्पन्न हुनेगरी जाजरकोट नलगाड नगरपालिका १० रम्दा र रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ खदी जोड्ने सडक पुल २०६९ देखि २०७२ सालमा सम्पन्न हुनेगरी सम्झौता भएको मध्य पहाडी लोकमार्ग अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरीनदीको सडक पुल नबन्दा जनताले दुख त पाइरहेकै छन्, आशैआशाको छटपटी त छ नै उल्टै ठेकादारहरुले मजदुरको ज्याला, होटेलको र दोकानको रासनको रकम समेत नदिई बेपत्ता समेत भई जनतालाई थप पीडा थपिएको अवस्था छ। यी निर्माण कार्यहरु समयमा सम्पन्न नभई अलपत्र हुनुमा के कति कारण हो? यसमा सरकार किन मौन रहेको छ? स्पष्ट जानकारी सहित निर्माण कार्य छिटो सम्पन्नको लागि माग गर्दछु। साथै रुकुम पश्चिमको चौरजहारीमा हवाई उडान २०७५ देखि किन बन्द भएको हो र कहिले देखि संचालन हुन्छ ?
उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समिति २०७५ सालदेखि सरकारले किन कोमामा राखेको छ ? यी विकास समितिले नेतृत्व गर्ने समुदायको विकास अन्य समुदाय सरह विकास नभएकोले अब यी संस्थाहरु आवश्यकता नभएको ठहर गरी कोमामा राखेको हो ? वा लोकतन्त्रले जन्माएका संस्थाहरुलाई गणतन्त्रले उखेल्नुपर्ने बाध्यता हो। स्पष्ट जानकारीको लागि अनुरोध गर्दछु।
प्रश्न नं २ जवाफ
जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदी पुल वि सं २०६९ मा सम्झौता भई निर्माण सुरु भएकोमा विभिन्न कारणवस निर्माण व्यवसायीले कार्य अधुरो छाडेकाले यही आर्थिक वर्षमा ठेक्का अन्त्य गरी नयाँ ठेक्का आह्वान गरिएको तर कुनै पनि निर्माण व्यवसायीको प्राविधिक प्रस्ताव स्वीकृत नभएकाले ठेक्का कार्य अगाडि बढाउन नसकिएको हो।यसमा यही चैत्र महिनाभित्र अर्को ठेक्काको सूचना प्रकाशित गर्ने गरी तयारी भईरहेको छ। पितिबाङ खोला पुल समयमा नै निर्माण नगरिएपछि ठेक्का तोड्न सूचना जारी गरिएकोमा सम्बन्धित निर्माण व्यवसायी सम्पर्कमा आएको र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा जानकारी गराउँछु।
रूकुम पश्चिमको चौरजहारी विमानस्थल सुचारु गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील छ।
माननीयज्यूले उल्लेख्य गर्नुभएका उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार छ। सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरुपमा ऐतिहासिक विभेदमा परेका दलित लगायतका समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको छ। दलित क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने विषयमा यसअघि नै सम्मानित सदनलाई जानकारी गराएको स्मरण गराउन चाहन्छु।
प्रश्न नं ३
प्रश्नकर्ताः मा गंगा प्रसाद यादव
प्रश्नको व्यहोरा
१. राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेट कटौतीका कारण तराई मधेश मरुभूमिमा परिणत भइरहेको छ। तराई मधेशलाई मरुभूमिकरणबाट जोगाउन आगामी योजना के छ ? तराई मधेश समृद्धि कार्यक्रम तथा सघन शहरी कार्यक्रममा रकम घटाइएको छ, हुलाकी सडक लगायत तराई मधेश विकासका आयोजनाहरुमा बजेट कटौती गरी तराई मधेशको विकासमा सरकार किन उदासीन देखिएको छ?
२. प्रधानमन्त्रीज्यू मधेशको मूल समस्या दहेज, विभेद, कुशासन र विकास निर्माणमा राज्यबाट हुँदै आएको असमानता, शिक्षा, स्वास्थ्यमा व्यापारीकरण विभिन्न क्षेत्रमा रहेको सिन्डिकेटलाई हटाउन तेस्रो पटक प्रधानमन्त्री भईरहँदा भुइँमान्छेको मुक्तिको लागि लामो संघर्ष गर्नुभएको तपाईंबाट दुई पटक प्रधानमन्त्री हुँदा केही परिवर्तन हुन नसकेको अवस्थामा अब परिवर्तनको आशा गर्ने तपाईंसँग के कस्ता नीति र कार्यक्रम छन् जनताले बुझ्ने भाषामा बताई दिनु हुन्छ कि?
उत्तर
चुरे–तराई–मधेशको संरक्षण तथा व्यवस्थापन एवं मरूभूमिकरण नियन्त्रणका लागि २०७१ सालमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालन भइरहको अवगत नै छ। यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चुरे संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जन भई स्वीकृतिको प्रक्रियामा रहेको छ। आवश्यकता र प्राथमिकताको आधारमा तीनै तहका सरकारका चालु आर्थिक वर्षको बजेट नघट्ने गरी सम्बोधन गर्न नीतिगत व्यवस्था गरिएको छ।
यसका साथै चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनमा जलवायु वित्त परिचालन गरी संचालन भईरहेको चुरे उत्थानशीलता आयोजनालाई अझै सशक्त बनाइनेछ। चुरे क्षेत्रमा १ करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ।चुरे तराई मधेश क्षेत्रको संरक्षणमार्फत् तराई मधेशको मरूभूमिकरण हुनबाट बचाउन चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षण गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको छ। चुरे क्षेत्रबाट गिटी बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ।
काठमाडौँ–तराई–मधेश द्रूतमार्ग प्रमुख प्राथमिकताका साथ निर्माण भैरहेको माननीय सदस्यज्यूहरूलाई अवगत नै छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत तराई मधेशको विकासका लागि नेपाल–भारत सीमा वारपार रेल, पूर्व पश्चिम राजमार्गदेखि सीमा शहरहरूसम्म ६ लेन सडक निर्माण, पूर्व पश्चिम र उत्तर दक्षिण तथा हुलाकी राजमार्ग लगायतका विकास आयोजना सञ्चालन भइरहेका छन्।
हुलाकी राजमार्गको निर्माणमा स्रोत साधनको अभाव हुन नदिई यस राजमार्गको बाँकी पुल तथा सडक खण्डको निर्माण सम्पन्न गर्न सरकार प्रतिबद्ध छ।
मधेशका जनताले भोग्नुपरेका समस्याका बारेमा सरकार गम्भीर छ। सरकारले मधेसका जनतालाई सामाजिक न्यायको प्रत्याभूति दिन मिटरब्याज लगायतका सामन्ती शोषणका कैयन जालोहरु भत्काउँदै गएको यहाँलाई अवगत नै छ। दहेज, सामाजिक विभेदलगायतका कैयन शोषणका स्वरुपहरु अन्त्य गरी मधेसी जनतालाई न्याय दिन, शिक्षा र स्वास्थ्यमा पहुँच कायम गर्न तथा रोजगारी र जीविकोपार्जन सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको छ। आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषयहरुलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ।
प्रश्न नं ४
प्रश्नकर्ताः मा. डा. चन्दा कार्की भण्डारी
प्रश्नको व्यहोरा
मैले यो प्रश्न सवाल जबाफ गर्नको लागि मात्रै गरेको हैन, सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएपछि यो जनमूखि कामले पक्कैपनि गति लिन्छ भनेर यो प्रश्न राखेको हुँ।
संविधानको धारा ३५ ले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हक अन्तर्गत राखेको छ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेको छ।यो मौलिक हकको प्रत्याभूति आम नागरिकलाई गराउने उपयुक्त माध्यम स्वास्थ्य वीमा कार्यक्रम नै हो भन्ने कुरामा दुईमत छैन। वर्तमान संविधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य वीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भन्ने प्रष्ट उल्लेख छ। सरकारले स्वास्थ्य वीमा कार्यक्रम लागु गरेको साढ़े सात वर्ष भइसकेको छ तरपनि हाम्रो स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। देशभरमा ४३.१४ प्रतिशतमा मात्रै वीमाको पहुँच पुगेको छ भने मधेश प्रदेशमा त ८.६१ प्रतिशत नागरिकले मात्रै वीमाको सेवा पाएको चित्त दुख्दो तथ्यांक छ। कर्णाली र सुदुर पश्चिममा पनि वीमाको पहुँच ज्यादै कम देखिन्छ। यसको कार्यान्वयनमा भएको यस्तो कमजोरीको कारण के होला, प्रधान मन्त्री ज्यू ?
१. बिमितहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा, तोकिएका औषधिको उपलब्धता र उपचार प्रक्रिया सरल नभएर हो कि? स्वास्थ्य संस्था पहुँचमा नहुँदा योगदान प्रिमियम बुझाउनुको औचित्य नभएको भएर हो कि?अस्पतालहरूलाई बिमितको औषधि उपचार खर्चबापतको भुक्तानी वीमा बोर्डले समयमा नदिएर हो?
२. निजिक्षेत्रको अस्पताल र मेडिकल कलेजहरुलाई संलग्न नगराएर हो कि?
३. स्वास्थ्य वीमा बोर्डमा आवश्यक दक्ष जनशक्ति नभएर हो कि?
४. स्थानिय तहमा विमा ज्ञान् सम्बन्धी अन्तर्कीया गर्न नसकेर हो कि?
प्रधानमन्त्री ज्यू अब सरकारले जनतामा कसरी स्वास्थ्य वीमाको पहुँच बढ़ाउने हो र वीमाका आधारमा सन् २०३० सम्ममा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न लिएको लक्ष्य कसरी पूरा गर्ने हो ?
उत्तरः
माननीयज्यूले स्वास्थ्य वीमालाई प्रभावकारी बनाउने विषयमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य वीमा कार्यक्रम संचालनमा रहेको छ। हालसम्म ३३ दशमलब २ प्रतिशत घर परिवार तथा २४ दशमलब ७ प्रतिशत जनसंख्या स्वास्थ्य वीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य वीमाको पहुँच पुगेको छ।
तोकिएका औषधिको उपलब्धता र उपचार प्रक्रिया सरल बनाउन २०८१ वैशाख १ देखि लागु हुनेगरी छुट्टै रिफिल काउन्टर (च्भाष्िि ऋयगलतभच) को व्यवस्था गरी औषधि वितरण गर्ने तथा ज्येष्ठ नागरिकलाई सबै सेवा प्रदायक अस्पतालहरुबाट प्रत्येक मङ्गलबार जेरियाट्रिक क्लिनिक (न्भचष्बतचष्अ ऋष्लिष्अ) मार्फत सेवा दिने व्यवस्था गरिएको छ। यसैगरी, आधारभूत अस्पतालहरुबाट वीमा सेवा सुरु गर्ने र निजी तथा सामुदायिक अस्पतालहरुलाई समेत सुचिकृत गरी सेवा विस्तार गर्ने तयारी गरिँदैछ।
बिमितको औषधिउपचार खर्च बापतको भुक्तानी अस्पतालहरूलाई समयमै शोधभर्ना गर्न थप जनशक्तिको व्यवस्था गरी हरेक दुई महिनामा शोधभर्ना हुने व्यवस्था गरिएको छ। स्वास्थ्य वीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृतिको प्रक्रियामा रहेको छ। दक्ष जनशक्ति व्यवस्थापनका लागि १ सय ५५ जना जनशक्ति पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य वीमा नियमावली संशोधनको प्रक्रियामा रहेको छ। यसैगरी २५ जिल्लामा २०७४ सालमा वितरण भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अति गरिब नागरिकको प्रिमियमको व्यवस्था गरि वीमा गर्ने बिषयमा गृहकार्य भइरहेको छ। त्यसैगरी नागरिकता, जग्गा पास लगायतका सामाजिक सेवाको क्रममा स्वास्थ्य वीमा परिचय पत्र अनिबार्य गर्ने, बैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिबार्य वीमा, आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरुको अनिबार्य वीमा गर्ने लगायत सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई स्वास्थ्य वीमा मार्फत एकीकृत गर्ने र स्वास्थ्य वीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ।
प्रश्न ५
प्रश्नकर्ताः मा. डा चन्द्रकान्त भण्डारी
प्रश्नको व्यहोरा
१. देशमा आमूल परिवर्तन गरी नयाँ नेपाल बनाउने नाराका साथ वि.स. २०५१ सालदेखि दश वर्षसम्म तपाईंको नेतृत्वमा नेपालमा भएको शसस्त्र द्वन्द्वमा जनधनको ठूलो क्षति भयो। शान्ति प्रकृयासँगै नयाँ संविधान निर्माण भयो। जनताले तपाईंबाट ठूलो आशा पनि राखेका थिए। तर आज अझ बढी गरिबी, अराजकता, कुशासन बढिरहेको छ। तपाईँको अनुभवमा यसको समाधानको उपाय के हो? देशमा देखा परेका यस्ता तमाम समस्याहरु समाधान गर्न तपाईंको के योजना छ?
२. नेपालमा वर्षमा झण्डै पचास–साठी हजार व्यक्तिहरु जलनबाट पीडित हुने गरेका छन्। जलनको उपचार अत्यन्त खर्चिलो र पीडादायी हुन्छ। नेपालमा यसको उपचारको लागि आधुनिक अस्पतालको अभाव रहेको छ। गरिबीका कारण विदेशमा उपचार गराउन नसक्ने कैँयौँ व्यक्तिहरुले मृत्युवरण गर्नु परिरहेको छ। जलनको उपचारको लागि अस्पताल निर्माण गर्न नेपाल स्वास्थ्य सरकारले २०७९ फागुनमा निर्णय पनि गरेको थियो तर हालसम्म कार्यान्वय हुन सकेको छैन। यो निर्णयलाई कार्यान्वयन गर्न जलन अस्पताल निर्माणका लागि शिलान्यासको काम कहिले हुन्छ? जानकारी दिनु हुन्छ कि?
उत्तर
माननीयज्यूले अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभएको छ। मैले यस सम्मानित सदनसमक्ष विश्वासको मत लिने क्रममा समेत यसबारेमा आफ्ना धारणा राखिसकेको छ। मेरो नेतृत्वको सरकारको मुख्य कार्यभार र प्राथमिकता नै सामाजिक न्यायको प्रत्याभूति गर्दै सुशासन कायम गर्ने, समृद्ध नेपालको निर्माण गर्ने र संविधानले परिकल्पना गरेअनुरुप समाजवादउन्मुख व्यवस्था निर्माणको आधार तयार पार्ने हो। हालसम्म प्राप्त उपलब्धिहरुको रक्षा गरेर मात्र संविधानले परिकल्पना गरे अनुरुप लक्ष्य पुरा गर्न सकिन्छ भन्ने मेरो धारणा छ। तर, अहिलेकै परम्परागत कार्यशैली, परम्परागत सोँच, चिन्तन र प्रणालीबाट सोच अनुरुप लक्ष्य हासिल हुन नसक्नेमा म पुनः जोड दिन चाहन्छु। यही मुख्य राजनीतिक तथा वैचारिक आधारमा सरकारको नेतृत्व लिएदेखि नै सुशासन कायम गर्न सरकार हरदम् प्रयासरत् छ। इतिहासमा नै ठूला ठूला भ्रष्टाचारका काण्डहरु अनुसन्धान भएका छन्। सुशासनको नयाँ र ऐतिहासिक मानकहरु स्थापित भएका छन् । यसैगरी गरिबीको अन्त्य गर्न, सामाजिक निराशालाई चिर्न आर्थिक प्रणाली तथा जनतालाई प्रत्यक्ष प्रत्याभूति हुने किसिमले सामाजिक सुरक्षा, रोजगार लगायतका कतिपय कार्यहरु अघि बढेका यहाँहरुलाई अवगत नै छ। सरकारले यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।
माननीयज्यूले जलन उपचार अस्पतालको सम्बन्धमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। किर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालका रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अघि बढेको छ। बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालका अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गरिँदैछ। प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारका जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमका लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ। स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरू गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको म यस सम्मानित सदनसमक्ष जानकारी गराउन चाहन्छु।
प्रश्न नं ६
प्रश्नकर्ताः मा चन्दा चौधरी
प्रश्नको व्यहोरा
सन् द्दण्ज्ञट मा चिनियाँ एक्जिम बैँकसँग द्दद्द अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले ऋण द्दड अर्ब पुगिसकेको छ र अबको १३ वर्षमा चिनियाँ बैँकलाई सबै सावा ब्याज तिर्न भनी शर्त राखिएको छ। उक्त विमानस्थल बनाउन मात्र हाम्रो आन्तरिक स्रोत जग्गा अधिग्रहणको लागि ९ अर्ब भन्दा बढी खर्च भएको छ। यसरी ऋण सहित लगभग घद्द–घघ अर्बमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १४ महिनासम्म पनि कुनै अन्तराष्ट्रिय व्यवसायिक उडान नहुनु हाम्रो लागि कतै यो संरचना ऋणपासो त बनिरहेको छैन? उक्त विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूले नै आज भन्दा १४ महिना अघि उद्घाटन गर्नु भएको थियो र चिनियाँ एम्बेसेडरले उक्त कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थल उहाँहरूको बेल्ट एण्ड रोडको उपहार हो भनेर सार्वजनिक रुपमा भन्नु भएको थियो। एक वर्ष बित्दा चिनियाँ बैँकलाई नै तिर्नुपर्ने सावाँ ब्याज बढेर हामीले धान्न नसक्ने परियोजनालाई चीनले नै आफ्नो उपहार भनेर भन्ने भनेको हामीले ऋण गरेर हामी अर्थतन्त्रले धान्नै नसक्ने परियोजनाहरु सञ्चालन गर्नुपर्ने हो (प्रधानमन्त्रीज्यू एक वर्ष मा ४ ओटा चार्टर्ड फ्लाइट र त्यहीबाट फर्किदा एउटा व्यवसायिक उडानन भरेर पोखरा अन्तराष्ट्रिय विमानस्थले उक्त घण् अर्ब भन्दा बढी अबको ज्ञघ वर्षमा कसरी तिर्न सक्छ उक्त विभानस्थलले सो ऋण आफै तिर्न सक्ने गरी सक्षम बनाउनको लागि तपाइले के योजना बनाउनुभएको छ ?
उत्तरः
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी (एएए) को आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ। समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइनेछ। पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको छ। यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ।
प्रश्न नं ७
प्रश्नकर्ताः मा. छिरिङ डुम्डुल लामा भोटे
प्रश्नको व्यहोरा
१. नेपालको ७७ औँ जिल्लामध्ये आजसम्म पनि राष्ट्रिय सडक र राष्ट्रिय प्रसारण लाइन सम्माननीय प्रधानमन्त्रीज्यूको पालामा जोड्न सक्छ सक्दैन सकिन्छ भने हुम्ली जनताले आशामा बस्दा हुन्छ?
२. कर्णाली करिडोर मृत्युमार्गबाट जीवनमार्गमा रुपान्तरण उत्तर–दक्षिण जोड्ने हजुरकै पालामा के–के गर्ने भनेर सोच्नु भएको छ?
३. कर्णाली करिडोर अन्तर्गत खुलालु–सल्ली सल्ला खण्डको रु. ४ अर्ब ५३ करोड पहिलेको भौतिक मन्त्री र राष्ट्रिय योजना आयोगबाट अर्थ मन्त्रालयमा गएको तर पूर्व अर्थमन्त्रीज्यूले रोकेको यो बहुवर्षीय ठेक्कका सम्माननीय प्रधानमन्त्रीज्यू न अहिलेको अर्थ मन्त्री, अर्थ सचिवज्यूले सहमत दिनुहुन्छ ? यदि बहुवर्षीय ठेक्काको सहमति दिन्छ भने कहिले र कति दिनमा काम टुङ्गिन्छ?
४. अन्त्यमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा राष्ट्रिय सडक र राष्ट्रिय प्रशारण लाइन कहिले पुग्छ ? हुम्ली जनतालाई निशुल्क स्वास्थ्य शिक्षा र समग्र सहुलियता तपाइको पालामा के कति पहल गर्नुभएको छ?
५. अबको बजेटमा हुम्लाले समान वितरण गर्न पाउने छ भन्ने आशा गर्न सक्छु?
उत्तरः
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी नेपाली सेना र सडक विभाग अन्तर्गत काम भैरहेको छ। कर्णाली करिडोर र कर्णाली राजमार्ग समेतको सडकको अवस्था सुधार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ। कर्णाली करिडोरतर्फ सिमकोटमा र पिलिचौरमा दुईवटा योजना कार्यालय स्थापना गरी काम भइरहेको छ। कर्णाली राजमार्गतर्फ सडक डिभिजन, सुर्खेत र जुम्लाबाट काम भइरहेको छ। खुलालु–सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षीय योजना ठेक्का गरिने र आगामी आर्थिक वर्षको बजेटमा समेत कर्णाली करिडोरलाई प्राथमिकतामा राखिनेछ।
कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, तथा हुम्ला जिल्लामा विद्युतीकरण विस्तारका लागि गत आर्थिक वर्षमा नै ठेक्का व्यवस्था भएको र डिजाइन ड्रइंग स्वीकृति भइसकेको छ। जुम्ला सदरमुकामसम्म ३३ के भी प्रशारणलाइन बिस्तार भएको र जुम्लाबाट मुगु सदरमुकाम तथा मुगु सदरमुकामबाट हुम्ला जिल्ला सदरमुकाम तथा अन्य स्थानमा समेत विद्युतीकरण गर्न ठेक्का सम्झौता गरिएको छ। निर्माण व्यवसायीबाट आगामी २ वर्षभित्रमा ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण सम्पन्न गरी विद्युतीकरण विस्तार गर्ने योजना रहेको व्यहोरा म यस सदन समक्ष जानकारी गराउँछु। हुम्लालगायत पूर्वाधारका दृष्टिले पछाडि परेका कर्णालीका जिल्लाहरुको समग्र पूर्वाधार तथा सामाजिक विकासको विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ।
प्रश्न नं ८
प्रश्नकर्ताः मा जनार्दन शर्मा
प्रश्नको व्यहोरा
संघीयतालाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण कार्यमा ढिलाई भईरहेको अवस्था एकातिर छ भने अर्कोतिर सरकारले निर्णय गरी तत्काल कार्यान्वयन गर्नसक्ने कुराहरु पनि कार्यान्वयन हुन नसक्नुको कारण के हो ? जस्तै,
१ प्रदेश प्रहरी समायोजनको काम बारे आलटाल गर्नुको कारण के हो ?
२. जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको क्षतिको पुनर्निमाणका कामहरु कुन मितिबाट प्रारम्भ गर्ने योजना छ ? प्रष्ट पारिदिनु भए आभारी हुने थिए।
उत्तरः ८
संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माणका लागि राष्ट्रियसभाको विधायन समिति र संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा छ। यस अनुरुप निजामती कर्मचारीसँग सम्बन्धित ऐन लगायत कतिपय ऐनहरु मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन् ।
नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ। सम्मानित सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भैरहेको छ।
जाजरकोट, बझाङ र डोटीमा भूकम्पपछिको पुनर्निर्माणका सन्दर्भमा विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुननिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८० का आधारमा भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको कार्यलाई दिने बिषय सरकारको उच्च प्राथमिकतामा छ।यो कार्य शीघ्र प्रारम्भ गरिनेछ।
प्रश्न नं ९
प्रश्नकर्ताः मा छविलाल विश्वकर्मा
प्रश्नको व्यहोरा
मैले प्रतिनिधित्व गर्ने रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ समेतका नेपाली जनताका तर्फबाट निम्न प्रश्नहरूको जवाफ गर्दछु। आज पनि यो देशमा लाखौँ लाख जनता भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्। देशको संविधानले मौलिक हकका रुपमा यिनको अधिकारलाई सुनिश्चित गरेको छ। भूमिहीन दलितको हकमा सोको कार्यान्वयन गर्न कानून समेत बनेको छ। कतिलाई ३ वर्ष भित्र जग्गा उपलब्ध गराउने भनेको छ। त्यो ३ वर्ष कहिले आउँछ सरकार? यस प्रकार वर्षौँ वर्ष जमिन भोग गरेका तर आफ्नो नाममा केही नभएका, राष्ट्रिय आवास कम्पनीको आलटालले पिडित यी अव्यवस्थित बसोवासीको कहिले सम्बोधन हुन्छ सरकार? पुस्ता दर पुस्ता सुकुम्वासी हुन वाध्य यी जनतालाई लालपुर्जा चाहियो सरकार। आश्वासन चाहिएन, पुग्यो।
हामी भन्दै छौँ, व्यवस्था बदल्यौँ अब जनताको अवस्था बदल्छौँ, यो संविधानको मुख्य विशेषता संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीता र धर्म निरपेक्षता हुन भन्नेमा दुविधा छैन। तर १४ प्रतिशत जनताको प्रतिनिधित्व कता खोज्ने हो? संविधानको कार्यान्वयन कसले गर्ने हो? स्वयम् प्रधानमन्त्रीज्यूको मन्त्रिपरिषद्को भित्र यी किन समेटिन सकेनन्? प्रदेश सरकार, देखिका राज्यका सबैजसो क्षेत्रमा किन वञ्चित गरियो? देशको संविधान उल्लंघन अधिकार तपाईलाई कस्ले दियो सम्माननीय प्रधानमन्त्रीज्यू? हरेक पाईला पाईलामा जातपात र छुवाछुतको भेदभाव अन्यायमा पारिएका, हेपिएका तर आफ्नो कला, सिप र श्रमले सिंगो समाजको सेवा गर्दै आएका यी दलित जनताले मानव कहिले पाउने? परम्परागत कला र सिपले प्रोत्साहन कहिले पाउने? जवाफ चाहियो सरकार। हाम्रो दक्षिण तर्फ छिमेकी देश भारत सँग १८०० किमी खुला सिमा छ। सिमानामा माटोको रक्षा गरेर बसेका नेपाली बिना पोशाकका सिपाही हुन्, रक्षक हुन् तर ति सताईएका छन्। गरिबीको मारमा तिनै छन्। पारीको पुलिस प्रशासनले बहानामा दुःख दिएको छ, वारीकाले पनि कम दुःख दिएको छैन। सीमावर्ती जनताको सुरक्षा, विकास पूर्वाधार देखि जीवनमा बदलाव ल्याउने सरकारको के योजना छ? महामावन गौतम बुद्धको जन्मस्थान लुम्बिनीको वृहत्तर विकासको गुरु योजनाले कहिले मूर्तता पाउँछ? बुद्धको मावलीदेखि बुद्धकालीन प्राकृतिक सम्पदा रोहिणी नदीको संरक्षण र करिडोर सहितको विकासको पहलमा सरकारले ध्यान नदिँदा पर्यटकले त्यससमययको रोहिणी नदी खोज्ने तर हामीले विद्रुप नदी देखाउनु पर्ने स्थिति महिले अन्त्य गर्ने? सम्माननीयज्यू, हरेक परिवर्तनका लागि योगदान दिने (पछिल्लो बेला खासमा लोकतन्त्र गणतन्त्रको लागि) लाखौँ प्रवासी नेपाली सम्पन्न भएपछि कहिल्यै राज्यबाट स्नेह पाएनन्। समस्याको समाधान भएन। उनीहरु भन्छन् खोलो तर्यो लौरो बिस्यौँ। रोजगारी शिलशिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई ईजरायली विद्रोही पक्ष हमासले कब्जामा लिई हालसम्म पनि बनाएको छ। उनको अवस्था के छ? जवाफ पाउँ।
उत्तरः ९
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्न गठित राष्ट्रिय भूमि आयोगबाट हालसम्म ५ हजार तीनसय परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको र ७ सय २८ स्थानीय तहसँग आयोगले सम्झौता गरिसकेको छ। हालसम्म १४ लाख ३६ हजार ४ सय भन्दा बढी निवेदनहरु संकलन भएकोमा १० लाख ४७ हजार एक सय २२ निवेदन कम्प्युटरमा प्रविष्टी गरिसकिएको छ। आयोगका कार्यहरुलाई प्रभावकारी बनाउन वन ऐन र भूमि सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाइएको र कानुन संशोधन संगै हालसम्म नापजाँच र नक्सांकन भइसकेका २ लाख ४३ हजार ५ सय ६१ कित्ता तत्काल उपलव्ध गराउने तयारी आयोगले गरेको छ।
राष्ट्रिय आवास विकास कम्पनीमार्फत देशका विभिन्न स्थानका आफ्नो स्वामित्व वा भोगाधिकार रहेको फुटकरतर्फ ३ हजार ४३ बिघा ४ कट्ठा २ धुर र जग्गाधनी प्रमाणपत्र भएको १७२ विघा ४ कट्ठा ८ धुर गरी कुल ३२ सय १५ बिघा ८ कट्ठा १० धुर जग्गामा साविकको पुनर्वास कार्यक्रम अन्तर्गत तत् तत् स्थानमा बसोबास गरिरहेका स्वबासीहरूलाई घडेरी उपलब्ध गराउने नीति रहेको छ। त्यस अनुरूप हालसम्म २ सय ७ परिवारलाई घडेरी उपलब्ध गराइएको छ। घडेरी उपलब्ध गराउन बाँकी १२ हजार ४५३ परिवारलाई आवश्यक कानूनी एवं नीतिगत व्यवस्था गरी यथाशीघ्र घडेरी वितरण गरिनेछ।
दलितहरूको समग्र विकास र उचित प्रतिनिधित्वको सम्बन्धमा मैले माननीय चन्द्र बहादुर विश्वकर्माले राख्नुभएको जिज्ञासा सम्बोधन गर्ने सन्दर्भमा स्पष्ट पारिसकेको छु।
सीमावर्ती क्षेत्रका नागरिकहरु सीमाका रक्षक हुन्। सीमा क्षेत्रका नागरिकको आर्थिक–सामाजिक विकासका लागि सरकारले सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।
लुम्बिनी बृहत्तर विकास गुरूयोजना राष्ट्रिय गौरवको आयोजनाको रूपमा कार्यान्वयन भइरहेको छ। थप साधन स्रोतको व्यवस्था गरी उक्त आयोजना कार्यान्वयनलाई तीव्रता दिइनेछ। लुम्बिनी विकास गुरूयोजना भित्रका सम्पदाहरूको खोजी, उत्खनन् र विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले निरन्तर प्रयास गरिरहेको र सरकारले मध्यस्थकर्ता देशहरु मार्फत समेत निजको रिहाइका लागि संवाद गरिरहेको छ।
प्रश्न १०
प्रश्नकर्ताः मा गंगा कार्की
प्रश्नको व्यहोरा
ललिता निवास, भुटानी शरणार्थी, सुन काण्ड लगायतका फाइल खोलेर अपराधमा संलग्नहरुलाई कार्बाहीको दायरामा ल्याएकोमा वर्तमान प्रचण्ड सरकारलाई धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीज्यू, अब बाँकी भ्रष्टाचारका फाइल खुल्छ की खुल्दैन? दुग्ध पदार्थ, माछा कुखुराको मासुमा आत्मनिर्भर भएको मुलुकमा बिचौलियाका कारण किसानहरु अत्यन्त मारमा परेका छन् । यसको समुचित व्यवस्थापन गर्न सरकारको के योजना छ ? दुध, उखु र निर्माण व्यवसायीको सरकारले व्यहोर्नु पर्ने बाँकी बक्यौता फरछ्यौट गर्न किन ढिला सुस्ती गरेको ? दोलखालाई पर्यटकीय जिल्ला घोषणा गर्न सरकारको के नीति छ ? दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग कहिले देखि संचालन हुन्छ ? के दोलखाको फलाक नाका खोल्ने कुरा यो वर्षको नीति तथा कार्यक्रममा पर्छ ? तामाकोशी तेश्रो हाईड्रो पावर जलासययुक्त बन्नु पर्छ, नत्र बन्न दिदैनौ भन्ने कुरामा दोलखालीहरु एक मत छन् । यसमा सरकारको योजना के छ ?
उत्तरः १०
भ्रष्टाचारको छानविनको सम्बन्धमा मैले यसअघि नै माननीय चन्द्रकान्त भण्डारीको प्रश्नको जवाफ दिने क्रममा सरकारको धारणा राखिसकेको छु। मेरो नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिँदै आएको छ।
मीटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिना लगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानूनी कारवाहीको दायरमा ल्याउन सरकार दृढ छ। भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ।
नेपाली कृषकहरुको निरन्तरको प्रयासबाट दुध, माछा र कुखुराको मासुउत्पादनमा देश आत्मनिर्भरता नजिक पुगेको छ। यसलाई स्थायित्व दिन सरकार निरन्तर प्रयत्नशील छ। दुध, माछा र कुखुराको मासुको मूल्य श्रृखंलालाई कृषकमुखी बनाउन उद्योगसँग खरीद सम्झौता एवम् बाइ ब्याक ग्यारेन्टी गरी साझेदारीमा उत्पादन, संकलन, प्रशोधन, भण्डारण तथा बजारीकरणका कार्यक्रमहरु केन्द्रित गरिएका छन्।
उखु किसानहरुले प्रोत्साहन अनुदानबापत पाउने गतवर्षको १ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरिसकिएको छ। आर्थिक वर्ष २०७१÷७२ को कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानको पुरानो बक्यौता सम्बन्धित उद्योगबाटै भुक्तानी गराउन सरकारले समन्वय गरिरहेको छ।
किसानलाई तत्काल दुधको मूल्य भुक्तानी गर्न नेपाल सरकारबाट दुग्ध विकास संस्थानलाई ३० करोड ऋणको व्यवस्था गरिएको छ। साथै अन्य उद्योगीहरुका लागि आफ्नो उत्पादनलाई धितोमा राखी बैंकमार्फत् ऋण प्रवाह गर्न सहजीकरण गरिएको छ।
नेपालका महत्वपूर्ण स्थान तथा गन्तव्यलाई पर्यटकीयस्थल तोक्ने नीति अनुरूप दोलखा जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा दोलखा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आवश्यक कार्य भइरहेको छ।
तामाकोशी तेस्रो जलविद्युत आयोजनाका सन्दर्भमा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन कार्य पछि मात्रै आयोजना कुन स्वरूपमा निर्माण गर्ने भन्ने निर्क्यौल हुन्छ। आयोजनाको निर्माण गर्दा राज्यलाई बढी भन्दा बढी लाभ हुने गरी मात्र स्वीकृती दिइनेछ।
दोलखाको म्याग्नेसाइट उद्योग सञ्चालनको लागि गठित कार्यदलले दिएको सञ्चालनको विकल्प सहितको प्रतिवेदन कार्यान्वयनको अध्ययन भैरहेको छ। उक्त उद्योग सञ्चालनका लागि उद्योग सञ्चालक साझेदारले उद्योगको खानी क्षेत्रको थप अध्ययन गरिरहेको छ। प्राविधिक अध्ययन पश्चात् उपयुक्तताको आधारमा उद्योग छिट्टै सञ्चालन हुनेछ।
दोलखाको फलाका नाका खोल्ने विषयमा मित्रराष्ट्र चीनसँग कूटनीतिक पहल भैरहेको र चीन सरकार सकारात्मक रहेको छ। छिमेकी देशहरुसँग जोडिएका सीमा नाका खोल्ने तथा व्यवस्थित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको छ।
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने विषयमा सम्बन्धित मन्त्रालयको माग बमोजिम आवश्यक रकम निकासा एवम् भुक्तानी भइरहेको र बाँकी रकम समेत शीघ्र भुक्तानी दिने व्यवस्था मिलाइएको छ।
प्रश्न नं ११
प्रश्नकर्ताः मा. छिरिङ ल्यामु लामा तामाङ
प्रश्नको व्यहोरा
गणतन्त्रका १५ वर्षमा देशको आर्थिक सामाजिक सुचकाङ्कमा निकै परिवर्तन आएको छ। अँध्यारोमा रहेको देशले उज्यालो प्राप्तिको आधार र आशा थपिदिएको छ। सम्माननीयज्यू तपाई पहिलोपटक देशको प्रधानमन्त्री हुँदा अर्थतन्त्रको आकार बढेको थियो। राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक आयोजना घोषणामार्फत् देशले भौतिक विकासको लय समातेको थियो। दोस्रो पटक देशको प्रधानमन्त्री हुँदा १८ घण्टा लोडसेडिङको अँध्यारोमा रहेको देशले उज्यालो यात्रा सुरु गरेको थियो। अहिले तेस्रो पटक प्रधानमन्त्री भैरहँदा सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको महाअभियान चलेको छ। यसले निराशाको बीचमा रहेका नेपाली जनतामाझ आशाको किरण देखिएको छ। यो दृढ संकल्प र आँट बोकेका सम्माननीय प्रधानमन्त्रीज्यूले चाहेमा मात्र कर्णालीको मुहार फेरिन सक्छ। सदियौंदेखि उपेक्षामा रहेको जुम्लालाई अहिले पनि कुनै राष्ट्रिय गौरवको आयोजनाले समेट्दैन। संघीयतामा कर्णालीको नाममा प्राप्त अधिकार साविक कर्णालीका जनताले उपभोग गर्न पाइरहेका छैनन्। यो अन्याय र विभेद हटाउन सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष पहल हुनेमा कर्णालीका जनता आशावादी छन्।
कर्णालीको स्रोत साधनको परिचालन गरी मूल्य श्रृंखला कायम गरिने भनेर विगतमा नीति तथा कार्यक्रम पनि नआएका होइनन् तर यसको कार्यान्वयन नभएको अवस्था छ । साविक कर्णाली जडिबुटीले सम्पन्न छ, त्यहाँ जडिबुटी प्रशोधन केन्द्रको स्थापना गरी रोजगारी सिर्जना गर्ने अवसर छ। जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै जलविद्युतले प्राथमिकता नपाएको तितो यथार्थ छ। ०६२÷६३ देखि सडकले प्राथमिकता पाएतापनि सडकले गुणात्मक फड्को मार्न सकेको छैन। सामाजिक आर्थिक विषयको उठान गर्नुपर्ने बेलामा सडककै मुद्दा उठाउन परेको छ।
त्यसैले जुम्ला र माथिल्लो कर्णालीको मुहार फेर्ने स्याउ तथा सिमी विकास बोर्डको गठन, जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना, जुम्लामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपालकै मेडिकल क्षेत्रको नमूना शैक्षिक संस्था बनाउन आवश्यक बजेट र पूर्वाधार विकास, जुम्ला एयरपोर्टलाई विस्तार कार्यलाई रणनीतिक महत्वका रुपमा कहिले अगाडि बढाउनु हुन्छ? गत वर्ष नीति तथा कार्यक्रममा कर्णाली र सुदूरपश्चिममा एयर एम्बुलेन्स स्थापना गर्ने भनिएको थियो, अहिलेसम्म त्यो कार्यक्रम किन कार्यान्वयन भएन? माथिल्लो कर्णालीका शैक्षिक जनशक्ति र राजनीतिक जनशक्तिको सरक्षण र अभिभावकत्व कसरी गर्नुहुन्छ ?
उत्तरः ११
कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक रुपान्तरणका विषयमा सरकार गम्भीर छ। कर्णाली लगायतका प्रदेशहरुलाई समृद्ध बनाउन नै हामीले लामो संघर्षमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका हौँ। यही तथ्यलाई मध्यनजर गरेर गत वर्षको बजेटमा कर्णाली प्रदेशमा तुलनात्मक रूपमा सबैभन्दा बढी बजेट विनियोजन भएको तथ्य माननीयज्यूहरुलाई अवगत नै छ।
पूर्वाधारको कमी, गरिबी, दुर्गम तथा पिछडिएको क्षेत्रका रुपमा चिनिएको कर्णालीलाई समृद्ध कर्णालीमा रुपान्तरण गर्न तीनै तहका सरकारबाट एकीकृत प्रयास भइरहेको छ। कर्णाली क्षेत्रमा हुने जडिबुटी लगायत कृषि र वनजन्य उत्पादन प्रवर्द्धन, पर्यटन विकास र प्राकृतिक स्रोतको समुचित उपयोगमार्फत विकास र समृद्धिको अपार सम्भावना रहेको कर्णालीको मुहार फेर्न नेपाल सरकार प्रतिबद्ध छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लक्षित एयर एम्बुलेन्स स्थापना गर्ने सम्बन्धमा सरकारले हाल विपद्मा परेका नागरिक र गर्भवती महिलाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर २४ घण्टा नै सुर्खेतमा राख्ने ब्यवस्था मिलाइएको छ। यसबाट जाजरकोटमा ३५८ रुकुम २१ जना भूकम्प प्रभावितका नागरिकको उद्धार गरिनुका साथै तथा कर्णाली प्रदेशका २२१ जना र सुदूरपश्चिम प्रदेशका १०७ जना महिलाहरुलाई सेवा प्रदान गरिएको छ।
प्रश्न नं १२
प्रश्नकर्ताः मा गोमा लाभ सापकोटा
प्रश्नको व्यहोरा
पोसाक दिवसको अवसरमा हाम्रो पार्टी जनमत पार्टी धोती लगाएर दिवस मनाउने क्रममा हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष मा.डा. सि.के. राउत र माननीय मन्त्रीसहित ५१ जनालाई प्रहरी प्रशासनले लछार गरी विना सूचना गिरफ्तार गरियो । त्यस्तै मधेश प्रदेशको सप्तरी जिल्लामा कृषि विश्व विद्यालय उद्घाटनमा माननीय प्रदेश शिक्षामन्त्री र प्रदेश सांसदहरूको टाउको फुटाइयो। यी दुईवटा घटनामा सम्माननीय प्रधानमन्त्रीबाट के, कुन प्रकारको कारवाही गरियो, जान्न चाहन्छु । यदि कारबाही हुँदैन भने त्यो अवस्थामा सम्माननीयज्यू भई दिए के गर्नु हुन्थ्यो?
उत्तरः
पोशाक दिवसका अवसरमा भएको घटना तथा सप्तरीमा कृषि विश्वविद्यालय उद्घाटनका बेला भएको घटनाका विषयमा माननीयज्यूले प्रश्न गर्नुभएको छ। नेपाल सरकार सबै जातजाति, सम्प्रदाय र धार्मिक सामाजिक विविधतालाई सम्मान गर्दछ। जनमत पार्टीका अध्यक्ष डा. सि. के. राउत सहित माननीय मन्त्रीज्यूलाई धोती लगाएको आरोपमा नभई निषेधित क्षेत्र उल्लङ्घन गरेको कारणले नियन्त्रणमा लिइएको र उहाँको रिहाइका लागि गृहमन्त्री स्वयं नै महेन्द्र पुलिस क्लवमा गई सहजीकरण गर्नुभएको थियो। त्यसैगरी मधेस प्रदेशस्थित सप्तरी जिल्लामा कृषि विश्वविद्यालयको उद्घाटनका क्रममा दुई पक्षको सम्भावित भिडन्त रोक्न र शान्ति सुरक्षा कायम गर्ने क्रममा तोकिएको सीमा रेखा पार गरी अघि बढ्न खोज्ने समूहलाई रोक्न सामान्य बल प्रयोग भएको थियो। यस घटनाका बारेमा प्रहरीमा कुनै जाहेरी नपरेको विषय समेत यस सम्मानित सदन समक्ष जानकारी गराउन चाहन्छु।
प्रश्न नं १३
प्रश्नकर्ताः मा चित्र बहादुर केसी
प्रश्नको व्यहोरा
बाग्लुङबाट गल्कोट सेवा केन्द्र लैजाने प्रतिबद्धता जनाउनु भएकोमा हालसम्म किन कार्यान्वयन हुन सकेन ?
उत्तरः
माननीयज्यूले बाग्लुङबाट गल्कोट सेवा केन्द्र लैजाने प्रतिवद्धताका सम्बन्धमा सान्दर्भिक जिज्ञासा राख्नुभएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा इलाका प्रशासन कार्यालय नै स्थापना गर्ने विषयमा सरकारले आवश्यक तयारी गरिरहेको विषय म सम्मानित सदनलाई जानकारी गराउँदछु।