परराष्ट्रमन्त्री श्रेष्ठसँग वद्री केसीको छलफल

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको एउटा समूहका अध्यक्ष डा. वद्री केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ ।
आइतबार भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । एनआरएनएभित्र देखिएको विवाद छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाए पछि केसी समूहको परराष्ट्रमन्त्रीसँगको छलफल भने बाक्लिएको छ । सत्ता गठबन्धन फेरिए पछि गृहबाट परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न गएका श्रेष्ठले एनआरएनएको विषयमा आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताउँदै आएका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले संघमा पछिल्लो समयमा देखिएका असन्तुष्टीहरुको बारेमा आफु पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गरेको एनआरएनएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । यसैगरी संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले गराएका छन् ।
केसी समूहका अध्यक्ष वद्री केसीले भने उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे ।
संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा. केसी र श्रेष्ठबीच दोस्रो पटक छलफल भएको हो । पुरानो गठबन्धन हुँदा निवर्तमान परराष्ट्रमन्त्रीले केसी समूहलाई भेट दिएका थिएनन् ।
छानविन समितिको प्रतिवेदन भने सार्वजनिक नहुँदा केसी समूह र समानान्तर गतिविधि गर्दै आइरहेको राजेन्द्र कुमार शर्मा आरके समूहले आ आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । अक्टोबरमा भएको निर्वाचनमा केसी समूहले धाँधली गरेको भन्दै आरके समूहले समानान्तर गतिविधि गरिरहेको छ । आरके समूह त्यतिबेला सत्ता गठबन्धन निकटको रुपमा रहेको थियो भने अहिले सत्ता गठबन्धनमा एमाले समावेश भएपछि केसी समूहले पनि सरकारसँग सहजता महसुस गर्न थालेको छ ।