पेन्सल्भेनियाको फिलाडेल्फियामा नेपाली विद्यार्थीले ‘पोट्रेट’ कला पस्कँदै

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी सर्जन ढकालले पोट्रेट कला पस्कने भएका छन्। प्रत्यक्ष अनुहार वा फोटो हेरेर चित्र उतार्ने कलालाई पोट्रेट भनिन्छ।
‘सोल अफ द हिमालय’ शीर्षकमा २८ बर्सिया विद्यार्थी ढकालले कला उत्सव सँग सँगै आर्थिक जोहो गर्ने कार्यक्रम गर्न लागेका हुन्।
‘यस्तो कार्यक्रम पहिलो पटक हुँदै छ।’ पेन्सिल्भेनियाको फिलाडेल्फियामा रहेको ‘स्कुल अफ कन्टेम्पोररी रियालिस्ट आर्टका अन्तर्राष्ट्रिय कला विद्यार्थी ढकालले समाज टाइम्स सँग भने।
कार्यक्रम अप्रिल १३ तारिख शनिवार (नयाँ वर्षको दिन) फिलाडेल्फिया स्थित बीओके भवनको सातौँ तलामा रहेको स्टुडियो इन्कममिनीटी (1901 S. 9th Street, Philadelphia, PA 19148) मा हुनेछ।
ढकालका अनुसार नेपाली समुदायमा पोट्रेट कला निकै कम हुन्छ। उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पेन्सिल्भेनिया च्याप्टरको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको बताए।
ढकालले आफ्नो कार्यक्रमका लागि केही स्वयम सेवकको खोजी भइरहेको बताए। हामी सँग लगभग ३५ जना कलाकार छन्, करिब ६ जना व्यक्ति (पोट्रेट मोडल) खोजिरहेका छौ जसले आफ्नो कला उतार्न समय दिउन्।’
त्यस्ता मोडल बिहान नौ बजे देखि साँझ पाँच बजे सम्म कलाकारको अगाडि बस्नु पर्दछ। ढकालले मोडलको रूपमा आउने व्यक्तलाई नेपाली भेसभुसामा सज्जिन पनि आग्रह गरे। ‘कलाकारहरूले सिँदुर पोतेमा सज्जिएकी , निधारमा रातो टिका लगाएकी महिला पनि खोजिरहेका छन्, नेपालीपन झल्कने अनुहार होस भन्ने हाम्रो चाहाना हो, त्यही अनुसार आइदिन म आग्रह गर्दछु।’ ढकालले भने।
ढकालले ती चित्रहरू फिलाडेल्फिया स्थित पेन्सिल्भेनिया नेपाली गुठीको भवनमा प्रदर्शनीमा राखिने बताए। ‘प्रदर्शनीको मिति हामी पछि तय गर्छौ, त्यो प्रदर्शनीमा राखिएका चित्र बिक्रीका लागि हुने छन्’ ढकालले भने,’सो रकम नेपालमा पोट्रेट कलाको विकासमा खर्च हुने छ।’
नेपालमा पोट्रेट सिर्जनाका लागि अभियान सञ्चालन गर्ने आफ्नो उद्देश्य रहेको ढकालले बताए।
‘चित्र बिक्रीबाट उठेको सबै रकम नेपालमा दान गर्ने हो।’ समाज टाइम्स सँग ढकालले भने,’यथार्थवादी कलाको प्रतिनिधित्व नभएको नेपालमा समसामयिक यथार्थवादी कलाको बीउ रोप्ने सपना देखेको छु।’
उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला क्याम्पसमा पनि सहयोग गर्ने बताए।
‘हामीले उठाएको रकम ललितकला क्याम्पसमा नेपालमा कला कार्यशाला सञ्चालन गर्न प्रयोग गरिने छ। सङ्ग्रहालय क्युरेटरको दृष्टिमा आधारित केही चित्रहरू नेपाल कला सङ्ग्रहालय (सिन्धुली कला घर) लाई दान गरिनेछ।’ उनले भने।
ढकालका अनुसार नेपालमा आर्ट एण्ड एस्थेटिक फोरम नेपालको सहयोगमा कार्यक्रम गरिने छ।
नेपालका कलाकारहरूका लागि यो निकै अर्थपूर्ण ऐतिहासिक कला घटना हुन गइरहेको ढकालको दाबी छ ।