टेक्ससको राजधानीमा पशुपतिनाथ

नारायण भण्डारी
टेक्ससको राजधानीमा हिन्दुहरूको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर स्थापित गरिएको छ । राजधानी अस्टिन सँगै जोडिएको विलियम्सन काउन्टीको हुट्टोमा मन्दिर स्थापित गरिएको हो । यो क्षेत्र ग्रेटर अस्टिन भित्र पर्दछ । अस्टिन लगायत ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पहल र सहयोगमा नेपालकै ऐतिहासिक पशुपतिनाथको स्वरूपको मन्दिर यहाँ निर्माण गरिएको छ । यस क्षेत्रमा नेपाली हिन्दुहरूको पहलमा निर्माण गरिएको यो नै पहिलो मन्दिर पनि हो ।
आराध्यदेव भगवान् पशुपतिनाथ विश्वभरका हिन्दुहरूको धार्मिक आस्थाका केन्द्र हुन ।यो आस्था सनातन हिन्दु दर्शन र समग्र हिन्दु संस्कारको मेरुदण्डको रूपमा रहेको छ । यसैले यो मन्दिर सँगै यसको प्रभावले हिन्दु दर्शन र संस्कार यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरू बिच दीर्घकाल सम्म जोगाई राख्ने विश्वास गरिएको छ ।
टेक्ससको राजधानी शहर अस्टिन र यसको वरपर बस्ने नेपालीहरूको साझा संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटीको योजना, पहल र नेतृत्वमा यो मन्दिर निर्माण गरिएको हो । नेपालको काठमाडौँ स्थित ऐतिहासिक पशुपतिनाथ सँग गहिरो आस्था र विश्वास जोडिएका नेपाली समुदायले त्यही स्वरूपको मन्दिर यहाँ निर्माण गर्नुलाई आफ्नो धर्म र संस्कार प्रति गहिरो आस्था देखाएको मान्न सकिन्छ ।
मन्दिरको योजना भित्र समेटिएका कैयौँ कामलाई निरन्तरता दिँदै अहिले मन्दिरमा दैनिक पूजा अर्चनाको काम सुरु गराउन मन्दिर उद्घाटनको तैयारी गरिँदै छ । मार्च ६ तारिख बुधवार बिहान ९ बजेबाट मूर्तिमा प्राण प्रतिष्ठाको काम सुरु गरिने छ । दुई दिन सम्म चल्ने पूजाको पहिलो दिन रुद्री पाठ, वेद पाठ लगायत पाञ्चायन देवताको पूजा , जप र हवन गर्ने कार्यक्रम रहेको छ । मन्दिरको औपचारिक उद्घाटन मार्च आठ एवं महाशिवरात्रिको पावन अवसर पारेर गरिने भएको छ ।
पशुपतिनाथको मन्दिर निर्माण सँगै यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूमा आध्यात्मिक जागरण र सहयोगको भावनामा बढेको पाइन्छ । यो मन्दिरको प्रभावले यहाँ नयाँ उत्साह थपेको छ । यो क्षेत्रलाई आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न यस पशुपतिनाथ मन्दिरको गहिरो सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ । धार्मिक आस्थाको यो प्रभाव अहिलेको नयाँ पीढीमा पनि परेको देखिन्छ । देश बाहिर जन्मे हुर्केका नयाँ पीढीमा सनातन धर्म र संस्कृति प्रति सकारात्मक प्रभाव देखिनु निकै खुसीको कुरा हो । ग्रेटर अस्टिन नेपाली सोसाइटीको अग्रसरता र नेतृत्वमा यो निर्माण सम्पन्न भएको हो ।
र यो पनि…