एनआरएन सभा कक्षको ताला खुलेन, कार्यालय खुल्यो
काठमाडौ । गैर आवासीय नेपाली संघ एनआरएनएको सचिवालयले बालुवाटारबाटै सेवा सुरु गरिसकेको छ । ११ औं अधिवेशनपछि दुई समूहमा एनआरएनएमा विवाद हुँदा दुवै पक्षले आफ्नो दावी गर्दै आएका छन् ।
अहिले एनआरएनएको डा. बद्री केसी समूहले सचिवालयबाटै काम गर्दै आएको छ ।
यसबीचमा अर्को आरके समूहले पनि सचिवालयमै भौतिक उपस्थितिमा बैठक आह्वान गरेपछि केही दिन कर्मचारीलाई विदा नै दिइएको थियो ।
फागुन १० गते (फेब्रुअरी २२) मा आरके समूहले वैठक गर्नका लागि सचिवालय पुग्दा कर्मचारीहरु विदामा बसेका थिए भने बाहिर लबिमा छलफल गरेर निस्कएको भिडियो सार्वजनिक भएको थियो ।
केसी समूहका प्रवक्ता फणिन्द्र पन्तले एनआरएनएका अभियन्ताहरुको बीचका झगडामा कर्मचारीहरु नपरुन भनेर नै त्यतिबेला उनीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताएका थिए ।
अहिले अवस्था नर्मल भएकाले कार्यालय निर्वादरुपमा चलेको समाज टाइम्सलाई जानकारी दिए । कार्यालय खुलकोबारे एनआरएनएकै सचिवालयमा सम्पर्क गर्दा निर्वादरुपमा सञ्चालन भएको एक कर्मचारीले जानकारी दिए ।
उनले एक साता अघि देखि नै कार्यालयबाटै कामहरु भइरहेको र सबै कर्मचारीहरु आइरहेको बताए । तर, शर्मा समूहले एनआरएनए सचिवालयको सभाकक्षमा गरेको तालावन्दी भने खुलेको छैन ।
ताला खुलाउने विषयमा अहिलेसम्म पहल पनि नभएको दुवै पक्षका अभियन्ताहरुले बताएका छन् ।



















