“बाना ऋण मुक्त अभियान” तेस्रो चरण मार्च तीन आइतवार
बाल्टिमोर/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) आफ्नो भवन ऋण मुक्त अभियानको तेस्रो चरणको कार्यक्रम मार्च तीन तारिख आइतवार आयोजना गर्ने भएको छ।
बानाले यस अगाडि दुई चरणको कार्यक्रममा झन्डै ९४ हजार डलर उठाएको छ।
‘दुई चरणको अभियानमा पनि केही शुभचिन्तकहरू छुट्नु भएको छ त्यसैका लागि हामीले कार्यक्रम राखेका हौ।’ बाना अध्यक्ष सुबोध विलास पन्तले समाज टाइम्स सँग भने।
अध्यक्ष थापाका अनुसार आइतवार बिहान आफ्नै भवनमा कार्यक्रम हुने छ। बिहान दश देखि १२ बजे सम्मका लागि कार्यक्रम राखिएको छ। उनले सबैलाई कार्यक्रममा आइदिन अनुरोध गरेका छन्।
‘भवनको मोर्गेजका लागि मासिक ठुलै रकम खर्च हुँदै आएको छ, यदि यो वर्ष हामी ऋण मुक्त भयौ भने मोर्गेज बराबरको रकम समुदायको हितका अन्य कार्यक्रममा खर्च गर्छौ।’ पन्तले भने।
बानाले सन् २०१७ मा करिब तीन लाख बिस हजार डलरमा भवन खरिद गरेको हो।
भवनमा दुई वटा हल रहेका छन्। संस्थाको नियमित प्रशासनिक कामका साथै पदाधिकारी बैठक, तथा अन्य कार्यक्रम पनि सोही भवनमा हुँदै आएको छ।
यस्तै बानाले बाल बालिकाहरूका लागि नेपाली भाषा कक्षा तथा अन्य विभिन्न गतिविधि पनि सञ्चालन गर्दै आएको छ।
(सच्चाइएको कार्यक्रम मार्च तीन तारिख आइतवार हुनु पर्नेमा यस अगाडि अन्यथा भएकोमा सच्याइएको छ।)














