सावित्रा बिनाको नेपालले वाफ महिला च्याम्पियनसिपमा जोर्डनको दबदबा तोड्न सकेन
पेन्सिल्भेनिया/ मुख्य खेलाडी सावित्रा भण्डारी बिना मैदानमा उत्रिएको नेपाली राष्ट्रिय महिला फुटबल टोली वाफ महिला च्याम्पियनसिपमा उप विजेतामा रोकिएको छ।
केही समय अगाडि साउदी अरबको जेद्दाहमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पाँच पटकको विजेता जोर्डन सँग ट्राइब्रेकरमा ५-३ गोलले पराजित भयो।
निर्धारित समय दुवै टिमले दुई दुईको बराबरी खेलेका थिए। पहिलो पटकको सहभागी नेपालले पहिलो हाफमा जोर्डनलाई दबाबमा राख्दै अग्रता पनि लिएको थियो।
तर अन्तिम २६ मिनेटमा त्यो अग्रता जोगाउन नसक्दा फेरि पनि अन्तर्राष्ट्रिय उपाधि जित्ने धोकोबाट एक कदम पछाडि नै रह्यो।
यस प्रतियोगितामा पहिलो सहभागितामा नै फाइनल खेलेको नेपालले साफ क्षेत्रमा भएका प्रतियोगितामा यस अगाडि दश पटक फाइनल खेली सकेको छ। तर सदैव उप विजेतामा सीमित छ।
सविता राना मगरको २९ औँ मिनेटमा नेपाललाई अग्रता दिएकी थिइन्। तर ७४औँ मिनेटमा जोर्डनले खेलमा बराबरी गरेको थियो जुन समय प्रीति राई चोटका कारण मैदान बाहिर उपचाररत रहँदा नेपाल दश जनामा सीमित थियो।
अफसाइड बिट गर्दै जोर्डनकी लाना फेरासले गोल गरेकी थिइन।
खेल बराबरी भए पछि जोर्डन झन् आक्रामक बन्यो। एक पछि अर्को गर्दै नेपालको पोष्टमा आक्रमण बढाएको जोर्डनले ८९औँ मिनेटमा दोस्रो गोल गर्यो ।
साराह अबु साबाहले नेपाली तीन डिफेन्डरलाई छिचोल्दै गोल गरेकी थिइन्। तर जोर्डनको यो अग्रता धेरै बेर टिकेन। अतिरिक्त समयमा नेपालले पेनाल्टी पायो।
जबाराहले बक्समा ह्याण्ड गरेपछि नेपालले पाएको अवसरलाई गीता रानाले सदुपयोग गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। त्यस पछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा अमृता जैली चुकिन्। चौथो पालोमा आएकी उनले गोल गर्न सकिनन्। त्यस अगाडि गीता राना, दिपा शाही र हिरा भुजेलले आ आफ्नो जिम्मेवारी पुरा गरेका थिए।
ट्राइब्रेकरमा जोर्डनका सबै खेलाडीले गोल गरेका थिए।
फोटो एन्फाको फेसबुक पेजबाट















