हिमालयन तेक्वान्दो ह्यारिसबर्गका तीन खेलाडी अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ हिमालयन तेक्वान्दो स्कुल ह्यारिसबर्गका तीन खेलाडी अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा छनौट भएका छन्।
भर्जिनियामा शनिवार भएको प्रतिस्पर्धामा स्टेट स्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एएयु (एमेच्योर एथलेटिक्स युनियन) तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा छनौट भएका हुन्।
अमेरिकामा एएयु र युएस तेक्वान्दो गरी दुई प्रकारका राष्ट्रिय प्रतियोगिता हुन्छन्। दुवै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अमेरिकाको तर्फबाट भाग लिन्छन्।
एएयु (एमेच्योर एथलेटिक्स युनियन) तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा जुन ३० देखि जुलाई ६ तारिख सम्म फ्लोरिडामा हुँदै छ। सोही च्याम्पियनसिपमा खेलाडी छनौटका लागि अमेरिकाका विभिन्न राज्यमा अहिले स्टेट च्याम्पियनसिप भइरहेको छ।
हिमालयन तेक्वान्दो ह्यारिसबर्ग नेपाली भाषी भुटानी प्रशिक्षक नकुल शर्मा र उनीकी श्रीमती पुनम दुलालले सन् २०१८ स्थापना गरेको स्कुल हो। उनीहरू पेन्सिल्भेनियाको ह्यारिसबर्गमा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली भाषी हुन्।
स्थापनाको पाँच वर्षमा नै उनीहरूले ‘हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिप’ आयोजना गरिसकेका छन्।
प्रशिक्षक शर्माका अनुसार भर्जिनियामा शनिवार भएको स्टेट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दोबाट ६ खेलाडीले भाग लिएकोमा तीन जना छनौट हुन सफल भएका हुन्। स्टेट च्याम्पियनसिपमा स्वर्ण र रजत जित्ने राष्ट्रिय च्याम्पियनमा छनौट हुने व्यवस्था छ।
हिमालयन तेक्वान्दोले चार स्वर्ण जितेको प्रशिक्षक शर्माले बताए। आइसिएस जिमिरेजले दुई तथा सुवर्ण शर्मा र सुसन मगरले एक एक स्वर्ण जितेका थिए।
१२ देखि १४ वर्ष उमेर समूहमा आइसिएस जिमिरेजले स्पाइरिङ र पुम्से दुवै तर्फ स्वर्ण पदक जितेका हुन्। उनले स्पाइरिङको तीन राउन्डमा सबैमा जित हात पारेका थिए।

यसै गरी सोही उमेर समूहबाट सुवर्ण शर्मा पनि एक स्वर्ण र एक रजत पदक सहित राष्ट्रिय प्रतियोगिताका लागि छनौट भइन।
स्पाइरिङ्मा नियमित रूपमा ९६ पाउन्ड तौलमा प्रतिस्पर्धा गर्दै आएकी सुवर्णले सोझै स्वर्ण पदक पाइन। आफ्नो तौल समूहमा प्रतिस्पर्धी नपाए पछि एक सय १२ पाउन्ड मुनिमा भाग लिएकी थिइन। जसमा उनले रजत पदक पाइन। पुम्मसे पनि उनले रजत पदक नै पाइन।
सुसन मगरले पुम्सेमा स्वर्ण र स्पाइरिङ्गमा रजत पदक जितेको प्रशिक्षक शर्माले समाज टाइम्सलाई बताए।
आफ्नो स्कुलका खेलाडीलाई धेरै भन्दा धेरै प्रतियोगिताको अनुभव दिलाउन आफूहरू लागि परेको शर्माले बताए। ‘हाम्रो लक्ष्य खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा नै पुर्याउने हो।’ शर्माले समाज टाइम्स सँग भने, ‘उनीहरूलाई हामी एक्सपोजर दिन चाहन्छौ।’
प्रशिक्षक शर्माले मार्च महिनामा मेरील्याण्डमा हुने युएस तेक्वान्दो च्याम्पियनसिपमा पनि खेलाडी सहभागी गराउने बताए।












