अमेरिकाको क्यालिफोर्निया गाडी दुर्घटनामा नेपाली युवाको निधन
क्यालिफोर्निया/ क्यालिफोर्नियाको सान पाब्लोमा बिहीबार बिहान भएको कार दुर्घटनामा निधन हुने व्यक्ति नेपाली युवा भएको पुष्टि भएको छ।
स्थानीय प्रहरीले सान पाब्लो एभिन्यू र २३ स्ट्रिटको क्षेत्रमा राती दुई बजेर २१ मिनेटमा भएको दुर्घटनामा एक जनाको निधन भएको रिपोर्ट गरेको थियो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पश्चिम क्षेत्र संयोजक बिष्णु खत्रीले घटनामा निधन भएका व्यक्ति नेपाली भएको पुष्टि गरेका हुन्।
खत्रीका अनुसार चितवन नारायणगढका जगत भण्डारीको दुर्घटनामा निधन भएको हो। भण्डारीको उमेर करिब ३० वर्षको भएको जनाइएको छ।
भण्डारीमा आफन्त अर्जुन गौतमका अनुसार कामबाट फर्कने बेला राती गाडी दुर्घटनामा परेको हो।
‘अहिले म टेक्सस छु, पहिला हामी क्यालिफोर्निया सँगै बसेका हौ, निधन हुने व्यक्ति मेरो माइजुको बहिनीका छोरा हुन्।’ समाज टाइम्स सँग गौतमले भने।
‘घटना सुने पछि मैले पनि पुलिस सँग कुरा गरे गाडी तीव्र गतिमा रहेको र साइडको डिभाइडरमा ठोकिएको हुन सक्ने अनुमान पुलिसले गरेको छ, पूर्ण विवरण आएको छैन।’ गौतमले भने।
स्थानीय समाचार माध्यमले भण्डारी सवार गाडीको अगाडिको भाग पूर्ण क्षति भएको उल्लेख गरेका छन्। चालकलाई घटनास्थलमा मृत घोषित गरिएको थियो ।
‘राति ढिलो सम्म कोठामा नआए पछि रुम मेडले आफन्तहरूलाई खबर गरेका रहेछन्।’ गौतमले भने, ‘भाइ पछिल्लो दुई वर्ष देखि टेस्ला कम्पनीको वेयर हाउसमा काम गर्थे।’
भण्डारी अविवाहित हुन्। उनका सबै परिवार नेपालमा छन्। नेपालमा आमा बा एक दाइ र एक बहिनी छन्।















