एनआरएनए सचिवालयका कर्मचारीलाई छुट्टी
काठमाडौं । गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई बिदा दिइएको छ । अहिले कुनै पर्व पनि आएको छैन । एनआरएनएको सचिवालयबाट काम गर्दै बद्री केसी समूहले कर्मचारीलाई छुट्टी दिनुको कारण भने अर्कै छ । एनआरएनएमा समानान्तर काम गर्दै आएको राजेन्द्र कुमार (आरके) शर्मा समूहले बालुवाटारस्थित सचिवालयमा बिहीबारका लागि ‘फेस टु फेस मिटिङ’ राखेको छ । त्यही मिटिङ गर्न नदिनका लागि केसी समूहले कर्मचारीलाई बिदा दिने निर्णय गरेको र त्यसलाई सिइओ राजेन्द्र राउतले बिहीबारदेखि लागू हुने गरी बिदा दिएको जनाइएको छ ।
‘सीईओ सरले बिहीबारदेखि कार्यालय बन्द हुने भन्नु भएको छ,’ केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने,‘कारण हामीलाई थाह भएन भोलि देखिको बैठक हुने र विवाद हुने देखिएकोले कार्यालय बन्द गर्ने भनिएको छ।’
यसअघि पनि केसी समूह र सीईओ राउतको डिजाइनमा कर्मचारीलाई बिदा दिने निर्णय भएको थियो । केन्द्रीय कार्यालयको चाबी नै बोकेर बद्री केसी अहिले हिँड्ने गरेका छन् ।
‘पहिला एनआरएनए मुख्यालयको हलको चाबी गार्ड तथा सीईओसँग हुने गरेको थियो,’केन्द्रीय कार्यालयका कर्मचारीले भने,‘अहिले चाबी मसँग हुँदैन भन्ने जानकारी सीईओ सरबाट आउने गरेको छ।’
एनआरएनएका आरके समूहका व्यक्तिहरू बुधवार बैठकको तयारीका लागि भन्दै सचिवालय पुग्दा कर्मचारीहरू कोही थिएनन् भने सेक्युरिटी गार्ड मात्रै रहेका थिए ।
शर्माले बिहीबारको बैठक जसरी पनि सचिवालयमै हुने बताए । आफूहरूले तयारी गरिसकेको जानकारी दिँदै लविमा भए पनि बैठक गर्ने शर्मा समूहका महासचिव वुद्धिसागर सुवेदीले जानकारी दिए । आफूहरूले बैठकका लागि कर्मचारीको सहयोग मागेका थियौँ, कर्मचारीबाट असहयोग भएको बताउँदै त्यसबारे पनि बैठकमा छलफल हुने जानकारी दिए ।
बैठकमा गैरआवासीय नेपाली सङ्घमा देखिएको अन्यौलता,गैरआवासीय नागरिकता लगायतका एजेन्डा तय गरिएका छन् । निर्धारित समयमा केन्द्रीय कार्यालयमा बैठक हुने जानकारी अध्यक्ष शर्माले दिए । ‘हामी सबैले पैसा उठाएर बनाएको भवन भएको हुँदा गैरआवासीय सबै नेपालीले बैठक गर्न सक्ने अधिकार रहेको भवनमा बैठक हुन्छ,’शर्माले भने,‘नियम अनुसार तोकिएको समयमा बैठक हुन्छ ।’
शर्माले बैठकमा उठाउनुपर्ने विषय र गैरआवासीय नेपाली सङ्घले आगामी दिनमा लिनुपर्ने नीतिको विषयमा मङ्गलवार नेपाली काङ्ग्रेससँग आस्था राख्ने प्रवासका अभियन्ताहरूसँग छलफल गरेका थिए ।
उता, पदाधिकारीको द्वन्द्वमा कर्मचारीलाई नमुछौँ भनेर नै कर्मचारीहरूलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको केसी समूहका प्रवक्ता फणीन्द्र पन्तले समाजटाइम्सलाई जानकारी दिए । उनले भने ‘हामी संस्थामा द्वन्द्व निम्त्याउन चाहन्नौँ, पदाधिकारीको बीचको झगडामा कर्मचारीहरू नपरून् भनेर नै उनीहरूलाई वर्क फर्म होमको व्यवस्था मिलाएका हौँ ।’ कर्मचारीले एक सातासम्म घरबाटै काम गर्ने पनि प्रवक्ता पन्तले बताए ।
यसैगरी भवन सुरक्षाका लागि अहिले कार्यालय बन्द गरिएको बताउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी सरकारको पनि रहेको प्रवक्ता पन्तले बताए ।