अमेरिकाको लङ आइल्याण्ड नेपाली समाजमा पहिलो पटक ‘प्यानल’ भिडन्त

पेन्सिल्भेनिया/ न्यु योर्कको गन्जागोलबाट अलिक शान्त मानिँदै आएको लङ आइल्याण्ड नेपाली समाजलाई पनि यस पटक भने मज्जाले चुनाव लागेको छ।
स्थापनाको १४ वर्ष पछि पहिलो पटक अध्यक्षका दुई प्रत्याशी २१ पदमा प्यानल नै बनाएर आमान्ने सामुन्ने भएका छन्। अझ सदस्य पदमा प्यानल बाहेक पनि एक जनाको उम्मेदवारी परेको छ। यस अगाडि एकाध पदमा निर्वाचन हुने गरेको भए पनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको थिएन्।
महेश खड्काको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले फेब्रुअरी २४ तारिख चुनावको तयारी गरेको छ। समाजमा सात सय आठ जना मतदाता रहेका छन्। उनीहरुको भौतिक उपस्थितिमा गोप्य मतदान हुने छ।
संस्थाको छैंटो अध्यक्षको दौडमा वर्तमान वरिष्ठ उपाध्यक्ष कुल प्रसाद गौली (राजन) र महासचिव बाबुराम शर्मा रहेका छन्। अध्यक्षको कार्यकाल दुई वर्षको रहने छ।
गौलीले आफूलाई समाज बुझेको र उनीहरुको आवश्यकता अनुसार काम गर्ने सक्ने भएकाले उम्मेदवारी दिएको दाबी गरेका छन्।
‘संस्था स्थापना देखि नै समाज बुझेको छु, उनिहरुको आवश्यकता बुझेको छु।’ समाज टाइम्स सँग गौलीले भने, ‘नयाँका आफ्नै समस्या छन्, पुरानाका आफ्नै समस्या छन् ती सबै बुझेर काम गर्न सक्ने म नै हुँ।’
नेपालमा धादिङ घर भएका गौली पेसाले रियल्टर हुन्। ‘अलिक अगाडि सम्म म अस्पतालमा काम गर्थे अहिले रियल्टर हुँ।’ उनले भने।
महासचिव,उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष रहेका गौलीले संस्थाको भवन निर्माणलाई पनि आफ्नो एजेन्डा बनाएका छन्।
तर अध्यक्षका अर्का प्रत्याशी बाबुराम शर्मा संस्थाको भवन बनाउने कुरामा गौलीले सदैव अवरोध गरेकाले यस पटक आफैले नेतृत्व लिनु परेको बताउँछन्।
‘म सात वर्ष देखि संस्थाको पदमा रहेको छु, सदस्य, सचिव हुँदै अहिले महासचिव छु, हाम्रै बैठक बस्नका लागि पनि कोठा खोज्नु पर्ने छ।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा शर्माले भने, ‘कोरोना महामारी अगाडि नै मैले दश हजार डलर व्यक्तिगत रूपमा दिन्छु भवन बनाउन भन्दा उहाँहरू मान्नु भएन त्यस कारण यस पटक आफैले नेतृत्व गर्नु पर्ने भएको हो।’
पर्वतमा जन्मिएर काठमाडौँमा हुर्किएका शर्मा अमेरिकामा व्यवसायी हुन्।
दुवैले आफूले चुनाव जित्ने दाबी गरेका छन्। ‘म प्रचार कम भए पनि काममा फोकस हुने मान्छे हुँ, समुदायको सुख दुखमा साथ दिँदै आएको छु, त्यही नै मेरो चुनाव जित्ने आधार हो।’ गौली भन्छन्।
शर्माले आफूले महासचिव हुँदा राम्रो काम गरेको र त्यसैको मूल्याङ्कन सदस्यले गर्ने बत्ताउँछन्। ‘धेरै सदस्य फिल्डमा नै गरेर बनाएको छु, महासचिव हुँदा राम्रो काम गरेको छु, धेरै सदस्य पारिवारिक र नातेदार छन्।’ शर्माले भने।
शर्मा समूहमा, वरिष्ठ उपाध्यक्षमा बाबुराज सिंहा(अमित), उपाध्यक्षमा द्वय विशाल रेग्मी(बिसु) र रुपा भण्डारी उम्मेदवार छन्।
महासचिवमा शंकर भण्डारी तथा सचिवमा द्वय मन क्षेत्री(मोहन) र रमेश सत्याल उम्मेदवार छन्।
कोषाध्यक्षमा निर्मल थपलिया र सह कोषाध्यक्षमा इन्दु थापा उम्मेदवार रहेका छन्।
सदस्य पदका लागि इलिजाबेथ ढकाल, नमिता पौडेल, अनुज लामिछाने, सुमन बास्तोला, राजकुमार गुरुङ, दीपक शर्मा, पुष्पराज रेग्मी, नीरज सापकोटा, पारस खरेल, सहकुल गिरी र सरोज जिसी उम्मेदवार छन्।
गौली समूहबाट वरिष्ठ उपाध्यक्षमा सबिता सिवाकोटी, उपाध्यक्षमा द्वय गोकुल सापकोटा र इन्दिरा सिम्खडा उम्मेदवार छन्।
महासचिवमा राजेन्द्र कार्की,सचिवमा द्वय चन्द्र पराजुली र दीपक अधिकारी उम्मेदवार छन् । कोषाध्यक्षमा सुरज पोख्रेल र सह कोषाध्यक्षमा राम के राईले उम्मेदवार छन्।
गौलीको समूहको सदस्यमा पत्रकार ज्ञानप्रसाद शर्मा बास्तोला, डा.यम राज गिरी, अम्बिका फुयाँल, विकास मैनाली, विमला भण्डारी, टेक मान तामाङ, प्रशान्त पाठक, रबी खड्का, राज के तामाङ, रोश्नी सिटौला, सुजन रेग्मी, र ज्ञानु चन्द छन्।
रिजा सुनुवारले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।
मैदान भित्र गौली र शर्मा,बाहिर खरेल र कार्कीको भिडन्त
मैदानमा वामपन्थी बिचार धारा निकट मानिने गौली र शर्मा भिडे पनि खासमा चुनाव नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता वेद खरेल र दुर्गेश जङ्ग कार्कीलाई लागेको बताइन्छ। जानकारहरूका अनुसार नेपालमा हुँदा गौली नेकपा माओवादी र शर्मा एमाले निकट हुन्।
कांग्रेस निकट खरेल र कार्की एनआरएनए अमेरिकाको निर्वाचनमा एउटै समूह (डिलु पराजुली) मा थिए। लङ आइल्याण्डमा भने उनीहरूले फरक फरक उम्मेदवार बोकेका छन्। कार्की समाजको पूर्व अध्यक्ष हुन भने खरेल सल्लाहकार।
नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका खरेलले एनआरएनएको चुनाव र स्थानीय चुनावलाई जोड्न नहुने बताए। उनले अमेरिकामा हुने स्थानीय संस्थाको चुनावलाई राजनीतिक रङ्ग नदिन पनि आग्रह गरे।
‘नेपालमा को कहाँ थियो थाहा भएन’ समाज टाइम्स सँग खरेलले भने,’त्यसरी भन्न उपयुक्त नहोला।’
उनले समाजमा आएका उम्मेदवार मध्ये शर्मा एजेण्डा मन परेकोले समर्थन गरेको बताए। ‘राजनीतिक कलर नदिँदा हुन्छ, शर्माजीले कुनै पनि पार्टीको झन्डा बोक्नु भएको छैन्, उहाँको एजेण्डा मन परेर समर्थन गरेको हुँ र दुर्गेश सँग मेरो सम्बन्ध बिग्रिएको छैन।’
कार्कीले संस्था र गौली दुबैलाई अन्याय हुन नदिन आफू लागेको बताए।
‘यस अगाडिको निर्वाचनमा गौलीजीले अध्यक्षमा उम्मेदवारी दिने लाग्दा हामीले संस्थाको हितका लागि सर्वसम्मत गराउँदा उहाँलाई यस पटक अध्यक्ष दिने भन्दै वरिष्ठमा रोकेका हौ।’ कार्कीले भने,’शर्मा जी महासचिवबाट एकै फड्को मार्न खोज्नु भयो कुरो त्यही नमिलेको हो।’
उनले खरेल सँग व्यक्तिगत कुनै रिसिइबी नभएको बताए।
अरू को कता?
खरेल र कार्की मात्र होइन लङ आइल्याण्ड नेपाली समाजका अन्य अगुवा पनि अहिले दुई तीर बाँडिएका छन्।
शर्माको पक्षमा समाजका पूर्व अध्यक्ष टिका ढकाल, सल्लाहकार विश्व बास्तोलाले खरो समर्थन गरेका छन्।
लङ आइल्याण्डको समाजलाई नजिकबाट नियालेको बताउने लङ आइल्याण्ड निवासी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा पनि शर्माको पक्षमा देखिएका छन्।
वर्तमान अध्यक्ष वसन्त चापागाईँले खुलेर कुनै पनि उम्मेदवारको भोट मागेका छैनन्। तर चापागाईँको समर्थन आफूलाई रहेको शर्माले दाबी गर्दै आएका छन्।
गौलीको पक्षमा गैर आवासीय नेपाली संघ एनआरएनए आइसीसीका सदस्यमा निर्वाचित तर शपथ नलिएका दुर्गेश जङ कार्की सहित एनआरएनए अमेरिकाका सह कोषाध्यक्ष दिवाकार पाण्डे, एनआरएनए आइसीसीका पूर्व सदस्य डा. हरि दाहाल लगायतले समर्थन गरेका छन्।
पूर्व अध्यक्ष मध्ये दुईले एक एक उम्मेदवार च्याप्दा अर्की पूर्व अध्यक्ष कल्पना थापाले मुख खोलेकी छैनन्।