मैनालीको दाहसंस्कार
नर्थ क्यारोलिना, अमेरिका । आत्मदाहबाट मृत्युवरण गरेका विश्व रक्तदाता अर्जुन मैनालीको बिहीवार दाहसंस्कार सम्पन्न भएको छ । मैनालीका १६ वर्षीय छोराले उनलाई दागवत्ती दिएका थिए ।
अन्तिम संस्कारमा उनका आफन्त र साथीभाइ गरी करिब एक सय भन्दाबढी व्यक्तिहरूको उपस्थिति थियो ।
केही वर्षदेखि सपरिवार नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका मैनालीले गत आइतवार साँझ सार्लोट सहरस्थित आफ्नो निवासस्थान नजिकै आत्मदाह गरेका थिए।
मैनालीले भाडामा गाडी लिएर घर नजिकै तलाउको छेउमा पुगेर सेलफोन र पर्स बाहिर राखेर गाडीभित्र बसी अग्निदाह गरेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उहाँको शरीर पूर्णत जलेर नष्ट भएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको सिपाली कोटथुम्कामा ५६ वर्ष अघि जन्मिएका स्वर्गीय मैनालीले दुइ सय छ पटक रक्तदान गरेका थिए । उनी नेपाली मूलका सर्वाधिक रक्तदान गर्ने व्यक्तिका रुपमा परिचित थिए।
मैनाली ब्लड डोनर्स अफ अमेरिका (२०१४) का संस्थापक हुन्। उनले गिफ्ट अफ लाइफ नामक आत्मकथा पनि प्रकाशित गरेका छन्। मैनालीले रक्तदानकै लागि भनेर विश्वका छ वटा महादेशका २० वटा देशमा रक्तदान भ्रमण गरेका थिए।
स्वर्गीय मैनालीकी आमा, श्रीमती एक छोरा र छोरी छन् ।















