एनआरएनएको छानविन समितिको म्याद १ महिना थप

Getting your Trinity Audio player ready...
|
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको छानविनका लागि गठन गरिएको समितिको म्याद थप गरिएको छ । जनवरी २४ मा १५ दिनको समय दिएर एनआरएनएमा गत अक्टोबरमा भएको निर्वाचन र त्यसपछि उत्पन्न परिस्थीतिका बारेमा छानविन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले महान्यायाधीवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।
समितिमा परराष्ट्र मन्त्रालयकी सहसचिव रिता धिताल, अनुसन्धान व्युरोका दिनेश आचार्य र लेखाका ओम प्रसाद रिजाल सदस्य छन् । उक्त समितिले काम गर्न १५ दिनको समय अपुग भएपछि अहिलेलाई १ महिनाको समय थप गरिएको परराष्ट्रमन्त्रालय निकट स्रोतले बताएको छ । समितिले लेखा प्रणालीको विषयमा पनि छानविन गर्न समय लाग्ने देखिए पछि १ महिना थप गरिएको हो । समितिको प्रतिवेदन आएपछि मात्रै मन्त्रालयले एनआरएनएको विषयमा निर्णय लिने छ ।
एनआरएनएको ११ औं अधिवेशनका बेला भेरो भोटिङमार्फत वद्री केसी पक्षले संस्था कव्जा गरेको आरके शर्मा समूले दावी गर्दै आएको छ । जसका कारण अहिले एनआरएनएमा समानान्तर अभ्यास भइरहेको छ । समानान्तर अभ्यास भएपछि दुवै पक्षले आधिकारिकताका लागि परराष्ट्रमा निवेदन दिए पनि छानविन समितिको प्रतिवेदन आएपछि मात्रै निर्णय गर्ने सरकारको तयारी छ ।
छानविन समितिले पछिल्लो समय एनआरएनएका कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रकुमार राउतलाई बोलाएर सोधपुछ गरेको छ । उनीसँग कार्यालयको सञ्चालन, आर्थिक पारदर्शीताका कुराहरुका बारेमा सोधपुपछ भएको छानविन समिति स्रोतले बताएको छ ।