प्रवासी नेपाली मञ्चको बैठकका लागि विश्व भरीका नेता मलेसियामा

क्वालालाम्पुर/ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको बैठकका लागि विश्वभरबाट नेताहरू मलेसियाको क्वालालाम्पुरमा भेला भएका छन्।
मञ्चको यो पहिलो फिजिकल बैठक हो। मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा अघिल्लो वर्षको नोभेम्बरमा काठमाडौँमा भएको प्रथम सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका थिए।
‘मैले अध्यक्षमा चयन हुँदै गर्दा वर्षमा एउटा भौतिक बैठक राख्छु भनेको थिए त्यसैलाई कार्यान्वयन गरेको हुँ।’ १५ महिना अगाडि अध्यक्ष निर्वाचित थापाले समाज टाइम्स सँग भने।
थापाका अनुसार बैठक फेब्रुअरी १०-११ तारिख मलेसियाको होटेल ग्रान्ड कन्टिनेन्टल क्वालालम्पुर बस्ने छ। अध्यक्ष थापाका अनुसार भौतिक बैठकको पहिलो दिनका कार्यसूचीमा वार्षिक समीक्षा प्रमुख रहेको छ।

अध्यक्षबाट समीक्षा प्रतिवेदन, सचिवबाट साङ्गठनिक प्रतिवेदन, आर्थिक विभाग प्रमुखबाट आर्थिक प्रतिवेदन पेस हुने छ।
यस्तै महादेश इन्चार्जहरूको प्रतिवेदन, विभागीय प्रमुखहरूको प्रतिवेदन, प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको संशोधित प्रतिवेदन, सल्लाहकार परिषद् अध्यक्षको प्रतिवेदन पनि पेस हुने छन्।
वार्षिक कार्य योजना तथा बैठकको घोषणा-पत्र पनि सार्वजनिक गरिने कार्यक्रम रहेको छ। यस्तै दोस्रो दिन सदस्यता वितरण, प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम रहने छ।
भौतिक बैठकमा सहभागी हुन कमिटीका सबै जना क्वालालम्पुर आइसकेको अध्यक्ष थापाले समाज टाइम्सलाई बताए।
‘हाम्रो कमिटीमा ३७ जना हुनु हुन्छ, एक जनाको पारिवारिक कारण आउन पाउनु हुँदैन बाँकी सबै छौ।’ थापाले भने।
बैठकको दोस्रो दिन कार्यकर्ता प्रशिक्षण र ६ सय भन्दा बढी सदस्यलाई सामूहिक शपथ ग्रहण गराइने छ। ‘अहिले सम्म ६ सय भन्दा धेरैले मञ्चको सदस्य लिनु भएको स्थानीय साथीहरूले जनाउनु भएको छ, यो सङ्ख्या बढ्छ।’ थापाले ।
कार्यक्रमको प्रमुख अतिथिका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेका विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराई कार्यक्रम स्थलमा आइसकेको पनि अध्यक्ष थापाले बताए।