अमेरिकाको लस एञ्जलसमा एक नेपाली युवा रेलको ट्र्याकमा मृत भेटिए

लस एञ्जलस / अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा एक नेपाली युवा रेलमार्गको ट्र्याकमा मृत भेटिएका छन्।
लस एञ्जलस काउन्टीको आधिकारिक वेबसाइटमा जनवरी ३१ तारिखको राति सो घटना भएको उल्लेख छ।
काउन्टीको वेबसाइटमा ४२ वर्षीय लच्छुमान शाहीको निधन भएको उल्लेख छ। हलिउड एलए न्युजले शाही नेपाल वा आसपासको हुन सक्ने लेखेको छ।
घटनाबारे एलए काउन्टीको वेबसाइटमा नै विवरण राखिएको छ। तर त्यहाँ नेपाली अगुवाहरू यस बारेमा बोल्न अन इच्छुक रहे।
समाज टाइम्सको सम्पर्कमा आएका एक नेपालीका अनुसार शाही नेपाली फुटबल खेलाडी हुन्। समाचारमा आफ्नो नाम उल्लेख गर्न अन इच्छुक ती व्यक्तिका अनुसार शाही नेपाली समुदायमा राम्रो फुटबल खेल्ने छाप बनाएका खेलाडी हुन्। एक दशक अगाडि अमेरिका आएका उनी लामो समय न्यु योर्क आसपास बसेका थिए। पछिल्ला केही समय यता उनी एलएमा बस्दै आएका हुन्।
घटना कसरी भयो भन्ने केही खुलाइएको छैन। ‘थप अनुसन्धान र विचाराधीन’ भनिएको छ।
हलिउड एलए न्युजले ‘लस एन्जलस काउन्टीले रेलमार्ग ट्र्याकमा ४२ वर्षीय एसियाली पुरुषको मृत्युको रिपोर्ट गरिरहेको छ।’ लेखेको छ।
‘मृतकको शरीर जारी गर्न तयार छ। उप-चिकित्सा परीक्षकको आदेश थप अनुसन्धानको लागि स्थगित गरिएको छ।’ समाचारमा भनिएको छ।
‘डीएमइले औषधि जाँचको आदेश दिएको छ भने, अर्को सार्वजनिक अद्यावधिक तीन देखि सात महिना लाग्न सक्छ।’ समाचारमा उल्लेख छ।
शाही मृत्युको औपचारिक घोषणा बुधवार साँझ ७:४२ बजे गरिएको थियो।

