‘अब चन्द्र सूर्य अङ्कित झन्डा कसले बोकिदिने ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिँड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौँमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झन्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्र सूर्य अङ्कित झन्डा बोक्न आग्रह गरे ।
उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज । म कांग्रेसको नेता हो मैंले चार तारे झन्डा बोकेर हिँड्छु । मैंले गल्ती गरे ठिक छ । तर आउँदो नयाँ पुस्ताले त कमजोरी दोहोर्याउनु भएन मुलुकका लागि । मेरा सहिदहरूले बोकेको चन्द्र सूर्य झन्डा कसले बोकिदिने ?’
पार्टीका झन्डा बोकेर मुलुकले निकास नपाएको बताएका भण्डारीले सबैले अब यो देशको झन्डा बोक्नुपर्ने बताए ।
उनले भने,‘नेपालको आफ्नै राजनीति स्थायित्व छैन । हामी किन अरूबाट प्रभावित भयौँ ? हामीसँग जनकपुर छ, लुम्बिनी छ, पशुपति छ, यहाँबाट प्रभावित किन हुन सकेनौँ ।’
आफ्नो पुस्ताले गरेको गल्ती आउँदो पुस्ताले दोहोर्याउन नहुने भण्डारीको भनाई छ । उनले सहिद अपमानिक नहुने हुँदा शहीदको अपमान गर्न नहुने बताए ।