गठबन्धनलाई जवाफ २०८४ मा : ओली (भिडियो सहित)
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन् ।
पार्टीको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिवार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए ।
उनले भने, ‘गठबन्धन, माकुराका कति वटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरूका पनि त्यस्तै छन् । हामीले अधिनायकवाद, ताना शाह, राजतन्त्र, पञ्चायत सबै फ्याँक्यौ भने यो जोडजाड गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन । एउटा चुनाव सधैँका लागि यस्ता गठबन्धनका संस्कृति, कुसंस्कृतिहरु अन्त्य गर्नका लागि काफी छ । त्यसैले हामीले भनेका छौ मिसन ८४, यसले यो सबै समस्याको एकै पटक दबाई गर्छ । गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ ।’
उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिटेन्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरू केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभई रेमिट्यान्सतर्फ अगाडि बढेको बताए ।
उनले भने, ‘देशको समस्या भनेको युवाहरू बाहिरिने क्रम बढ्दै गएको छ । अहिलेको गठबन्धन सरकार रेमिटेन्स आइरहेको छ भनेर खुसी भइरहेका छन्, तर रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशय अरू केही पनि हुँदैन । संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्य तोकेको छ, हामी सबैभन्दा भरपर्दो रेमिटेन्स अर्थतन्त्रतर्फ जाँदै छौ । दिगो विकासको लक्ष्य होइन, आफ्नो उत्पादन बढाएर सुदृढ हुने होइन, रेमिट्यान्सतर्फ जाँदै छौ ।’
नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने ठाउँमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको आरोप पनि उनले लगाए ।
उनले भने, ‘हाम्रा शासनमा हुनेहरू खासगरि गठबन्धनमा हुनेहरूको नीति नै गलत छ । नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ । आज शिक्षाको लागि बाहिर जानपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ । समस्याहरू छ तर समाधान पनि छन् । कुनै पनि देश अरू आएर बनाउँदैन, आफैँले बनाउनु पर्छ ।’