‘कोशीको गडबडी छानबिन हुनुपर्छ’
काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित समसामयिक अन्तरक्रियामा उनले गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताए ।
कोशीमा सत्ता गठबन्धन दलबाट कांग्रेसका कृष्ण सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार थिए । सिटौला निर्वाचित भए भने एमालेकी रुक्मिणी कोइरालासँग कार्की पराजित भइन । दलहरुका शीर्ष तहको महमतिअनुसार मतदाता इमानदार भएको खण्डमा सत्ता गठबन्धन दलको मतभार कार्कीलाई जिताउन पर्याप्त थियो । तर, उनी हारिन् । अहिले गठबन्धनमा यसको समीक्षा भइरहँदा विडारीले अवस्था प्रष्ट पारेका हुन् ।
‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानबिन हुनपर्यो । कसले गडबड गर्यो, किन गर्यो, गडबडका कारण के थिए ? यो बारेमा छानविनपछि मात्रै भनिन्छ,’ उनले भने ।
‘जनयुद्ध’मा सहभागी माओवादी नेतृलाई कोशीमा हराइएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोशीमा केपी शर्मा ओलीले चलाखी गरेको समेत बताए । ओलीलाई ‘रकमी’ र ‘बडो चलाख मान्छे’को संज्ञा दिँदै उनले अनेक तिक्डम गरेर आफ्नो पक्षमा एक सिट पारेको टिप्पणी गरे ।
‘हाम्रो पार्टीको अपांगता भएको, जनयुद्धमा सहभागी भएको उम्मेदवारलाई हामीले कोशीमा उठाएका थियौं,’ उनले भने, ‘त्यसको सट्टामा केपीजी बडो चलाख मान्छे, कूटनीति जान्ने मान्छे, त्याँमाथि एमाले भनेपछि अहिलेदेखि होइन, पहिल्यैदेखि बडो तिक्डम गर्न जान्ने, रकमी प्रकारका काम गर्न उल्का सिपालु भावनाले त्यहाँ उहाँहरुले एउटा सिट गडबड पार्दिन सक्नुभयो ।’
नेता विडारीले अब राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलानै निश्चितप्रायः भएको बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाँदै गर्दा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएर नै उम्मेदवार बनाइएको उनको भनाइ छ । सिटौलाको स्वभाव, शान्ति प्रक्रियामा पुर्याएको योगदान र टुंग्याउन पर्ने शान्ति प्रक्रियाका कामलाई विचार गरेर अहिलेको परिस्थितिमा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने भनाइ उनको थियो ।















