हुन्डी कारोबारमा अमेरिकामा रहेका नेपाली व्यापारी पनि मुछिए

काठमाडौँ/ अवैध हुन्डी, क्रिप्टोकरेन्सी र विभिन्न डिजिटल प्लेटफर्मबाट झन्डै तीन खर्ब रुपैयाँको कारोबार गरेको अभियोगमा १७ जनाको समूहविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको छ। जसमा अमेरिकामा रहेका विवादित व्यवसायी विमल पोद्दार सहित अन्य समेत रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियुक्तविरुद्ध दुई खर्ब ८६ अर्ब चार करोड २५ लाख आठ हजार ७५४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।
सिआइबीले मंसिर ६ गते हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२८, बागबजारस्थित घरबाट ४८ वर्षीय रूपेश श्रेष्ठलाई पक्राउ गरेको थियो। श्रेष्ठको साथबाट बरामद मोबाइल र रजिस्टरहरूको जाँच गर्दै जाँदा व्यवसायी पोद्दारसहित १७ जना यो धन्दामा रहेको खुलेको सिआइबीले जनाएको छ।
अन्य अभियुक्तहरूमा काठमाडौँ–११, थापाथलीका ३५ वर्षीय आशीष अग्रवाल, बागलुङ नगरपालिका–७ घर भई टोखा नगरपालिका–१०, सामाखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जिसी, हेटौँडा उपमहानगरपालिका–१२ का ४९ वर्षीय कुमार परियार, झापा गौरादह नगरपालिका–४ का ४५ वर्षीय झनिन्द्रप्रसाद खतिवडा छन्। श्रेष्ठसहित अग्रवाल, जिसी, परियार र खतिवडा गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायी पोद्दारसहित १२ अभियुक्त फरार रहेको सिआइबीले जनाएको छ।
फरार अभियुक्तहरूमा काठमाडौँ–२८, बागबजारका ४४ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौँ–३१ का अंशुल श्रेष्ठ, रचना शर्मा (रूपेश श्रेष्ठकी पत्नी), नुवाकोटको विदुर नगरपालिका–४ का शरद भट्टराई, धादिङको गल्छी गाउँपालिका–२ का वीरेन्द्र मगर, दाङको बबई गाउँपालिका–६ का बिगलसिंह शर्मा, सिन्धुलीको कमलामाई नगरपालिका–६ का ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतली बजार नगरपालिका–४ का दीपक शर्मा, रामेछापको उमा कुण्ड गाउँपालिका–१ का वाङदेन फुन्सोक लामा, नवलपुर देवचुली नगरपालिका–१० का गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली नगरपालिका–१० का रुदे तामाङ छन्।
उनीहरूमध्ये व्यवसायी पोद्दार, दिपेश र अंशुल अमेरिकामा रहेको प्रहरीले जनाएको छ। दिपेश रूपेशका भाइ हुन्। यो समूहले अमेरिकादेखि नेपालसम्म र नेपालदेखि भारतसम्म अन्तरदेशीय सञ्जाल बनाएर नेपाल सरकारको राजस्वमा हानि पुग्नेगरी बैङ्किङ प्रणाली छलेर हुन्डी, क्रिप्टोकरेन्सी र ‘क्यासएप’ बाट रकम स्थानान्तरणको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
टेक्ससमा रहेका एक नेपालीका अनुसार दिपेश छोटो समयमा आर्थिक रूपमा उल्लेख्य फड्को मार्ने नेपाली व्यवसायी मध्येमा प्रर्दछन्। ‘शुरुमा उनले ग्यास स्टोरमा लगानी गरेका थिए। विशेष गरी स्किल गेम मेसिनले उनलाई राम्रो आम्दानी दिलाएको थियो । जति कमाउँदै गयो उत्ति नै उनको आकांक्षा बढेको देखिन्छ।’ समाज टाइम्सको सम्पर्कमा आएका उनले भने। ‘राम्रो सँग खोज्ने हो भने अन्य पनि समातिन सक्छन्।’
त्यसो त अमेरिकी सुरक्षा निकायले पनि पछिल्लो समय टेक्ससका शङ्कास्पद नेपाली व्यापारी माथि निगरानी बढाएको बताएको जनाइको छ।
रुपेशले अमेरिकामा व्यवसाय गर्ने आफ्ना भाइ दिपेश श्रेष्ठ र भाञ्जा आयुष श्रेष्ठसँगै ग्यास स्टेशनमा काम गर्ने नेपालीहरुको तलब वापतको रकम आफूले नेपालमा रहेका उनीहरुको आफन्तलाई भुक्तानी गरिदिएको प्रहरीसँगको बयानमा जिकिर गरेको अनलाइन खबर उल्लेख गरेको छ।
‘यसरी भुक्तानी दिने काम करिब १ वर्ष अगाडिबाट गर्न थालेको हुँ, मैले नेपालमा भुक्तानी दिएको रकम मेरो भाइ तथा भाञ्जाले मलाई पठाउने गरेका थिए’, उनले भनेका छन् ।
सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
आफूहरुले पहिले बागबजारमा अपविट कन्सल्टेन्सी प्रालि सञ्चालन गरेको भन्दै श्रेष्ठले त्यतिबेला विद्यार्थी ल्याउन सहयोग गर्नेहरुको विवरण टिप्न जोन र रेन नामको डायरी राखेको बताएका छन् ।
विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई सल्लाह, सुझाव दिन कन्सल्टेन्सी स्थापना गरिएपनि शिक्षा मन्त्रालयले स्वीकृति नदिँदै साझेदारबीच विवाद भएर बन्द गर्नुपरेको उनले बताएका छन् ।
प्रहरी अनुसन्धानले रूपेशले मात्रै झन्डै दुई खर्बको कारोबार गरेको देखाएको छ। उनले क्रिप्टोकरेन्सीका विभिन्न वालेटहरूबाट मात्रै एक खर्ब ७१ अर्ब ६२ करोड १६ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। यस्तै उनको साथबाट बरामद २ वटा ‘जोन रोवर्ट’ र ‘र्यान बेकर’ नामका दुई रजिस्टरमा दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिन्छ। उनले ‘क्यासएप’बाट पनि १४ अर्ब ७४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको अभियोजन पत्रमा उल्लेख छ।
यस्तै आशीषले क्रिप्टोकरेन्सीका विभिन्न वालेटबाट ९६ अर्बभन्दा बढी र क्यासएपबाट एक अर्ब १४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको अनुसन्धानले देखाएको छ। पक्राउ अन्य अभियुक्तले पनि करोडौंको दरमा अवैध कारोबार गरेको पाइएको छ।