अमेरिकामा नेपाली विद्यार्थीलाई एयरपोर्टबाट फिर्ता पठाइयो
पेन्सिल्भेनिया/ उच्च शिक्षा अध्ययनका लागि आएकी एक नेपाली विद्यार्थीलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाइदिएको छ।
मेडिकल क्षेत्रमा उच्च शिक्षा हासिल गर्न अमेरिका आएकी काभ्रेकी (व्यक्तिगत गोपनीयताका कारण नाम उल्लेख नगरिएको) युवतीलाई सिकागो विमानस्थल अध्यागमनले फिर्ता पठाएको हो।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाका अनुसार ती महिला विद्यार्थी शनिवार साँझ सिकागो विमान स्थलमा उत्रिएकी थिइन। उनलाई मङ्गलवार साँझ फिर्ता पठाइएको हो।
नेपाल फिर्ता पठाइएकी ती विद्यार्थीकी अमेरिकामा रहेका एक आफन्तका अनुसार अध्यागमन अधिकृतले ट्युसन फी तिर्ने प्रयाप्त आधार नदेखिएको भन्दै फिर्ता पठाएको हो।
‘कलेजले मागेको वर्षको फी २९ हजार अमेरिकी डलर रहेछ, पहिलो सेमेस्टरको लागि सबै पैसा लिएर आएको छ तर दोस्रो सेमेस्टर देखि आम्दानीको स्रोत के हो भनेर सोधिएको रहेछ।’ घटनाको विवरण सुनाउँदै ती आफन्तले समाज टाइम्स सँग टेलिफोन कुराकानीमा भने।’नेपालमा रहेको खाता देखाउँदा पनि पैसा देखियो तर विश्वस्त हुने आधार देखिएन भन्दै रोके छ।’
तीन आफन्तका अनुसार विद्यार्थीका पिता नेपालमा सरकारी कर्मचारी हुन भने आमा शिक्षिका।
‘भित्र गएर जेलमा बस्नेकी (डिटेन्सनमा) नेपाल फर्कने भन्दा उनले नेपाल नै जान्छु भने छिन्।’ ती आफन्तले भने।
प्रवासी मञ्चका अध्यक्ष थापाले आफूहरूले कानुनी परामर्श गरे पनि ढिलो भएको बताए।
‘सायद उनी अलिक आत्तिएको देखियो, उनले शुरुमै नेपाल फर्कन्छु भनेर कागजमा हस्ताक्षर गरिछिन हामीले वकिल लगाउँदा ढिलो भयो प्रक्रिया सुरु भइसक्यो भने।’ थापाले भने।
आफन्तका अनुसार ती विद्यार्थी मेडिकल फिल्डमा आइटीमा मास्टर गर्न आएकी हुन्।
‘नेपालमा राम्रो परिवारकी हुन्, नर्सिङमा बीएसी गरेकी जागिरे पनि हुन्।’ ती आफन्तले भने ‘सन् १९९५ मा आउँदा म आफैलाई पनि त्यस्तै परेको हो। उनले डिटेन्सनमा जान्छु भनेको भए कानुनी उपचारमा जान सकिन्थ्यो अलिक आत्तिइन जस्तो लाग्यो।’
अध्यक्ष थापाका अनुसार ती विद्यार्थी हङ्गकङ्ग ट्रान्जिट हुँदै बुधवार नेपाल पुग्ने छिन्।















