बलिउड: सानिया र शोएबको वैवाहिक जीवन सङ्कटमा

मुम्बई । टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरूको क्रेज राम्रो छ ।
अहिले यो जोडी आफूहरूको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालै मात्र सानियाले इन्स्टाग्राम एकाउन्टबाट शोएबका सबै तस्बिर हटाएपछि उनीहरूबिचको वैवाहिक खटपट छताछुल्ल भएको छ ।
सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बिचमा उनले आफ्ना पति शोएबका सबै तस्बिर हटाएकी छन् ।
शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपरवुमनको पति’ भएको बताएका थिए । उनीहरूको सम्बन्धविच्छेको विषयमा कुरा बुझ्दा सानियाले ‘हल्ला चलिरहेको छ । चासो राख्नु राम्रो होइन । तपाईँ के भन्न चाहनुहुन्छ’ भन्दै जवाफ फर्काएकी थिइन् ।
केही समयअघि मात्र शोएबको पाकिस्तानी अभिनेत्री आयशा उमरसँग प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । यही कारण शोएब र सानियाको सम्बन्धमा दरार आएको निकटले दाबी गरेका छन् ।
सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए । उनीहरूको एक छोरा एजहान छन् । सानियाले केही दिन अघि इन्स्टाग्राममा ‘जब कुनै कुराले तपाईँको हृदयको शान्तिलाई नष्ट गर्छ भने त्यसलाई जान दिनुहोस्’ लेखेकी थिइन् । उनको यो लेखाई पछि शोएब र सानियाको जीवन टिकसँग नचलेको सबैले अनुमान गरेका थिए ।