राप्ती बस दुर्घटना: मृतकको सङ्ख्या १२ पुग्यो,२३ को उपचार जारी

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।
७ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले जानकारी दिए । मृतकहरूमध्ये ८ जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका– ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगन्जकी ६० बर्सिया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परि घाइते भएका अन्य २३ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए ।
घटना के कसरी भएको भन्नेबारेमा चालकलाई नियन्त्रणमा लिएर उनीमाथि र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।