संघीयता कार्यान्वयन र विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दा बल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रवार शीतल निवासमा बोलाएर ध्यानाकर्षण गराएका हुन् ।
त्यस अवसरमा उनले मुलुकमा देखिएका महत्त्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले दलहरूले आफूहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी कानुनहरू पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै, पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो तेरो नभनी क्षमता वान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएको सल्लाहकार पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ ।