पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेकोबारे सरकारले जवाफ दिनपर्छ : सभामुख घिमिरे

पोखरा । सभामुख देवराज घिमिरेले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । उनले विमानस्थल बनेको यति लामो समयसम्म पनि किन उडान भएन भनेर पोखरेली जनताले थाहा पाउनुपर्ने बताए ।
ठुलो लगानीमा विमानस्थल निर्माण भएको भएता पनि सञ्चालनको एक वर्ष पुग्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउँदै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए ।
उनले त्यसबारे स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण समेत गराए ।
यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडि बढिरहेकोमा यथाशीघ्र सम्पन्न गरी खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत आग्रह गरे ।
सभामुख घिमिरेले महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको बताए । साथै, गण्डकी प्रदेश र पोखरोका पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याएको बताए ।