अमेरिकाको ह्यारिसबर्गमा ९० दिनमा ६ नेपाली भाषी भुटानीद्वारा आत्महत्या

ह्यारिसबर्ग/ पेन्सिल्भेनियाको ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा पछिल्लो समय नेपाली भाषी भुटानी समुदायमा आत्महत्याको क्रम बढे पछि ह्यारिसबर्ग भुटानी कम्युनिटी (बीसीएच) ले सङ्कट सम्बोधनमा सक्रियता बढाएको जनाएको छ।
बीसीएचका अध्यक्ष तिलक निरौलाका अनुसार पछिल्लो ९० दिनमा ६ जनाले आत्महत्या गरेको रेकर्ड छ। समाजमा सङ्कट बढ्दै गए पछि त्यसको समाधानका लागि बीसीएचले सामूहिक छलफलको आह्वान समेत गरेको छ।
‘म तपाईँको ध्यानाकर्षण गराउनको लागि लेख्दै छु जुन हाम्रो तत्काल ध्यान केन्द्रित र सहयोगी प्रयासहरूको माग गर्दछ।’ बीसीएचका अध्यक्ष तिलक निरौलाले समुदायका अगुवालाई पत्र लेख्दै भनेका छन्।
‘विगत ९० दिनमा, हाम्रो समुदायले आत्महत्याको पीडादायी स्पाइक अनुभव गरेको छ, कुल छ वटा दुखद घटनाहरू। विशेष गरी डरलाग्दो कुरा के छ भने यी छ वटा आत्महत्यामध्ये चार जना बिस वर्षका युवतीहरू समावेश छन्।’ निरौलाले लेखेका छन्, ‘यो ढाँचा गहिरो सम्बन्धित छ, द्रुत र एकताबद्ध कार्यको आवश्यकता छ।’
उनले परिस्थितिको अत्यावश्यकतालाई ध्यानमा राख्दै जनवरी १२ तारिख शुक्रवार दिउसो १२ देखि २ बजे सम्म बीसीएचको सम्मेलन हलमा (95 Shannon Dr, Harrisburg, PA 17112) सरोकारवालाको बैठक आयोजना गरेको पनि जनाएका छन्।
बैठकमा सहभागी भएर सङ्कट समाधानमा सुझाव दिन पनि अध्यक्ष निरौलाले आह्वान गरेका छन्।
निरौलाले समुदायमा आएको सङ्कटको बारेमा राज्यका सरोकार निकाय सँग बैठक गरेको पनि पत्रमा उल्लेख गरेका छन्। ‘हामीले भर्खरै राज्य र काउन्टीका प्रमुख सरोकारवालाहरूसँग बैठक गरेका छौँ।’ उनले भनेका छन्।
निरौलाका अनुसार आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यमा सुधारका लागि राज्यका शरणार्थी स्वास्थ्य संयोजक, शरणार्थी कार्यक्रम सल्लाहकार, चिकित्सा निर्देशकको कार्यालय, मुख्य मानसिक स्वास्थ्य निर्देशक, स्वास्थ्य इकाई कार्यालयका निर्देशकहरू घटना न्यूनीकरणका लागि व्यापक छलफल भएको छ।
अब शुक्रवार हुने बैठकमा सामुदायिक नेताहरू, उद्यमीहरू र विभिन्न पृष्ठभूमिका व्यवसायीक व्यक्तिहरू, मानसिक स्वास्थ्यका विशेषज्ञहरू बिच छलफल हुने जनाइएको छ। बैठकको घटना न्युनिकरणाका लागि बृहत् योजना तर्जुमा गर्न सहयोगी हुने अपेक्षा गरिएको छ।