छुटे जनमतका मन्त्री,सांसद र नेता कार्यकर्ता
काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्र माइतीघरतिर अगाडि बढिरहेका बेला पक्राउ परेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतलाई प्रहरीले चार घण्टापछि छाडेको छ । उनीहरूलाई गृहमन्त्री आफैँ भृकुटीमण्डप पुगेर रिहा गराए ।
सोमबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरूलाई छुटाएका हुन् ।
‘गृहमन्त्री श्रेष्ठले आफूहरूबाट भएको कमीकमजोरी स्विकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
अङ्ग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरू आज बिहान ‘धोती दिवस’ लेखिएको ब्यानरसहित नारा लगाउँदै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।
निषेधित क्षेत्रमा भेला हुन खोजेपछि प्रहरीले उनीहरूलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरूको धकेलाधकेल भएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत माइतीघरलाई निषेधित क्षेत्र तत्काल हटाइनुपर्ने आवाज सांसदले उठाएका थिए । त्यसपछि गृहमन्त्री आफैँ पुगेर पक्राउ परेकालाई रिहा गराएका हुन् ।