धोती दिवस मनाउन माइतीघरमा जम्मा हुँदा…
काठमाडौं । काठमाडौंको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ ।
जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित संघीय मामला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी शाह, भूमि व्यवस्था,सशकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलगायतका नेता कार्यकर्ता धोती लगाएर सडकमा नाराबाजी गर्दै उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।
तर, नयाँ पुस्ताले आफ्नो संस्कृति विर्सिदै गएकाले सभ्यता र संस्कृति सम्झाउन जनवरी १ तारिखमा राष्ट्रिय धोती दिवस मनाउन लागेको जनमत पार्टीका कार्यकर्ता सुमित मिश्रको भनाई छ ।
उनले भने, ‘यो हाम्रो सभ्यता र संस्कृति जोगाउनलाई हो । नयाँ पुस्ताले आफ्नो सभ्यता संस्कृति विर्सिरहेका छन् । कसैले नविर्सिउन भनेरै राष्ट्रिय धोती दिवसको आयोजना गरेको हो । जनवरी १ मा हामीले राष्ट्रिय पोसाक दिवससँगै धोती दिवस मनाउने निश्चय गरेका छौं ।’
सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो ।
















