एनएसएलको उपाधि ललितपुर सिटीलाई

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणको उपाधि ललितपुर सिटीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले पहिलो उपाधि जित्न सफल भएको हो । धनगढी भने लगातार दोस्रो संस्करण उप विजेता बन्न पुग्यो ।
गत संस्करणमा पनि धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस पटक प्लेअफमा जित निकाल्दै सिधै फाइनल पुगेको धनगढी एलिमिनेटर राउण्डबाट आएको ललितपुरले अन्ततः उपाधि जित्न सफल भयो । १० हजार बढी दर्शक उपस्थित दशरथ रंगशालामा धनगढीले अग्रता लिए पनि जोगाउन असफल रह्यो ।
प्रतिस्पर्धात्मक खेलमा धनगढीले ३७ औं मिनेटमा अग्रता बनाएको थियो । धनगढीका अफिज ओलावालेले गोल गर्दै अग्रता दिलाएका हुन् । उनले अहमद हिजाजीले प्रहार गरेको फ्रिकिकलार्य ललितपुरका किपर जेफ्री बाल्टुसले क्लियर गर्न असफल भएका थिए । सोही बलमा ओलावालेले वानटचमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए ।
तर, त्यो अग्रता धनगढीले धेरैबेर जोगाउन भने असफल रह्यो । पहिलो मिनेटमा थप गरिएको अतिरिक्त ११ औं मिनेटमा ललितपुरले बराबरी गरेको थियो । ललितपुरका इमोह इजेकेले गोल गर्दै बराबरी गरे । २० यार्ड टाढाबाट पाएको फ्रिकिकमा गोल गर्दै खेल बराबरी गर्दा रंगशाला गुञ्जायमान बनेको थियो ।
५० औं मिनेटमा सिटीले अग्रता २–१ बनाउन सफल भयो । ललितपुरका दिनेश हेम्जनले आदिल शाक्यले दिएको उत्कृष्ट पासमा गोल गरेका थिए । ५८ औं मिनेटमा ललितपुरले गोल गरेपछि धनगढी लगातार दोस्रो पटक उपाधि विहीन हुने अवस्थामा पुगेको थियो । ५८ औं मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो ।
८० औं मिनेटमा धनगढी १० खेलाडीमा झर्न पुग्यो । खराब फौल गरेपछि आगेमाङ दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए । २ गोलले पछि परेको अवस्थामा १० खेलाडीमा झरेको धनगढीले कमब्याक गर्न निकै प्रयास गरेको थियो । दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा धनगढीका लागि हिजाजीले गोल गर्दै अन्तर ३–२ मा ल्याए पनि उपाधि भने ललितपुरले जित्न सफल भयो ।
उपाधिसँगै ललितपुरले नगद ७० लाख रुपैयाँ जितेको छ भने उप विजेता भएको धनगढीले २० लाख रुपैयाँमा चित्त बुझाएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको दोस्रो संस्करणमा देशका विभिन्न शहरका नाममा रहेका ९ टिमले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणमा भने ७ टिमले सहभागिता जनाएका थिए ।