गुड लक सूर्यदाई

राम कुमार सुबेदी “रामअविराम”
पत्रकार: सहकारी वचतकर्ता डुबाउनु हुन्छ?
सूर्यदाई: हुन्न,निकाल्नु पर्छ
पत्रकार: कसले निकाल्ने?
सूर्यदाई: डुबाउनेले
पत्रकार: त्यही त
सूर्यदाई: के?
पत्रकार: डुब्नेलाई त निकाल्ने भनेको
सूर्यदाई: के डुब्यो?
पत्रकार: सहकारी
सूर्यदाई: कहाँ?
पत्रकार: कहाँ हैन दाई! वचतकर्ताको
सूर्यदाई: के भो तिनीहरुलाई?
पत्रकार: बचत डुब्यो
सूर्यदाई: जम्मै! सुकाउँदा हुन्न?
पत्रकार: संचालक र व्यवस्थापकले त सुकाएर डुबाए
सूर्यदाई: अब फेरि सुकाउने
पत्रकार: उठाउनु पर्यो
सूर्यदाई: सुकाएर उठाउनु पर्छ
पत्रकार: दाई के
सूर्यदाई: भकारी
पत्रकार: वचतकर्ताको पैसा फिर्ता गर्नु पर्दैन?
सूर्यदाई: पर्छ नि
पत्रकार: कसले?
सूर्यदाई: जसले लगेको हो?
पत्रकार: संचालक र व्यवस्थापकले लगेको रे?
सूर्यदाई: के?
पत्रकार: पैसा
सूर्यदाई: के भो?
पत्रकार: संचालक र व्यवस्थापकले लुटेर लगे?
सूर्यदाई: के
पत्रकार: पैसा
सूर्यदाई: सुरक्षा गार्ड थिएनन्?
पत्रकार: भित्रबाट नै उनीहरुलाई थाहा नदिकन लगे
सूर्यदाई: के?
पत्रकार: पेट काटेर जम्मा गरेको पैसा
सूर्यदाई: पेटमा किन राखेको सहकारीमा राख्नु पर्ने
पत्रकार: सहकारीमै राखेको हो
सूर्यदाई: अहिले पेटमा राखेको भन्नु भएको हैन?
पत्रकार: तपाइंले झिकेर लगेको सुनिन्छ?
सूर्यदाई: के?
पत्रकार: पैसा
सूर्यदाई: कसको?
पत्रकार: सहकारी वचतकर्ताको
सूर्यदाई: के?
पत्रकार: पैसा
सूर्यदाई: पैसा के भो? डलर भो?
पत्रकार: ऋणको रूपमा तपाइले पैसा लैजानु भो रे
सूर्यदाई: कसको?
पत्रकार: निक्षेपकर्ताको
सूर्यदाई: आक्षेप हो
पत्रकार: आरोप हैन दाई, नागरिकता सहित पत्रिकामा छ
सूर्यदाई: के
पत्रकार: पैसा लगेको
सूर्यदाई: मेरो नागरिकताको दुरुपयोग भयो
पत्रकार: दुरुपयोग कि दोहोरो प्रयोग दाई?
सूर्यदाई: मलाई थाहा भएन
पत्रकार: दुवै?
सूर्यदाई: दुवै! हैन क्या मेरिल्याण्ड र मदरल्याण्ड
पत्रकार: डलरदेखि डबलसम्म?
सूर्यदाई: के?
पत्रकार: चपाएको पचाएको
सूर्यदाई: हरियो घाँस खाने “गाई” हो र म?
पत्रकार: हरियोपरियो मन पर्छ दाईलाई भन्छन्
सूर्यदाई: घण्टा जस्तो कुरा गरेको बाह्र भाईले जस्तै
पत्रकार: अन्तर्वार्ता सकिएको घण्टी बज्यो हस दाई