बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने दोषी ठहर भएका छन् । गौशाला २६ ले उनी विरुद्ध दिएको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।
गत वर्षको भदौ ५ गते गौशालाको होटेलमा आफूलाई बलात्कार गरेको भन्दै गौशाला २६ (परिवर्तित नाउँ)ले प्रहरीमा किटानी दिएकी थिइन् । भदौ २१ गते उनीविरुद्ध गौशाला प्रहरीमा किटानी जाहेरी पर्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न गएका थिए । पछि काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।