बालकुमारीमा गोली लागेर २ को मृत्यु

काठमाडौं । बालकुमारी घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएको थियो । त्यसअघि आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाल चढेको गाडी आगजनि गरेका थिए । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा सुजन रावत र वीरेन्द्र साहको मृत्यु भएको हो । रावतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो भने साहको पाटन अस्पतालमा मृत्यु भएको हो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।
के कारणले आन्दोलन ?
रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यो विषयमा उच्च अदालत पाटनमा मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।
तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।
ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको उनको भनाइ छ ।
सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको छ ।