एनआरएनए बद्री समूहको केन्द्रीय सदस्य र सल्लाहकार मनोनयन

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा. बद्री केसी समूहले सल्लाहकार, सदस्य र विभिन्न कमिटीमा मनोनयन गरेको छ।
केसी समूहका प्रवक्ता फणीन्द्र पन्तका अनुसार आइतबार भर्चुअल मार्फत बसेको बैठकले मनोनयन गरेको हो।
मनोनीतहरूमा अध्यक्षका श्रीमती, पदाधिकारीका भाइ र एमाले निकट प्रवासी नेपाली मञ्चका विभिन्न पदमा सक्रियहरूको वर्चस्व रहेको छ। दुई वर्ष अगाडि दुई टुक्रा भएको एनआरएन अहिले तीन समूहमा विभाजित छ।
केसी समूहले सल्लाहकारमा २१ जना मनोनीत गरेको छ। जसमध्ये आठ जना नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्चमा सक्रिय छन्।
प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा केसी समूहको सल्लाहकारमा मनोनीत भएका छन्। सल्लाहकारमा नियुक्त मध्ये रमेश पाण्डे, भैरव ढकाल, गोविन्द ढकाल, शिव बरुवाल, कमल गुरागाईँ, यमुना भट्टराई र रमेश थापा प्रवासी मञ्च निकट हुन्।
यस्तै गरी आइसीसी सदस्यमा नियुक्त २१ मध्ये दश जना प्रवासी मञ्च निकट छन्। राम प्रसाद घिमिरे, बाबुराम भण्डारी, ज्योति शर्मा, डा. सन्जु पौडेल, विनेश तामाङ, अर्जुन गुरुङ, सरस्वती केसी, शान्ति अर्याल अधिकारी, मनिता ढुङ्गाना र ईश्वरी भट्ट प्रवासी मञ्च निकट हुन्।
ईश्वरी भट्ट प्रवासी नेपाली मञ्च अमेरिकाका संयोजक हुन्।
यस्तै विधान व्याख्या कमिटीमा भूषण घिमिरे र भवानी ओली प्रवासी मञ्च निकट हुन्।
यस्तै सल्लाहकारमा नियुक्त प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफ्नो पद कार्यकारी नभएकाले खासै फरक नपर्ने बताए। एनआरएनएको विधानमा कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संस्थामा क्रियाशील व्यक्ति एनआरएनएको कुनै पनि पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था छ।
‘खै कार्यकारी होइन भनेर गरे होलान्।’ समाज टाइम्स सँगको छोटो प्रतिक्रिया थापाले भने। उनी अघिल्लो पटक आइसीसी सदस्यमा अमेरिकाको तर्फबाट निर्वाचित भएका थिए। तर प्रवासी मञ्चको अध्यक्षमा निर्वाचित भए पछि आइसीसी सदस्यबाट अलग भएको घोषणा गरेका थिए। यद्पी आइसीसीको लिस्टमा भने उनको नाम सदैव यथावत् रहेको थियो।
केसी समूहका प्रवक्ता फणीन्द्र पन्तले नियुक्त भएका व्यक्तिको विषयमा आफू जान नचाएको बताए। ‘यो आजको बैठकले गरेको निर्णय हो, व्यक्तिहरूको मारेमा म जान चाहिन। हुनै राजनैतिक दलमा हुनुहुन्छ भने सायद अब राजीनामा दिनु हुन्छ होला।’ पन्तले भने।
बद्री समूहको आइसीसी सदस्यमा मनोनीतहरू
पूर्णनाथ घिमिरे (अष्ट्रेलिया)
रामप्रसाद घिमिरे (अष्ट्रेलिया)
बाबुराम भण्डारी (जापान)
सरिता ढकाल (जापान)
ज्योति शर्मा (इजराइल)
डा सञ्जु पौडेल (कोरिया)
विनेश तामाङ (कतार)
तारानाथ बोहरा एमडी (युएई)
अर्जुन गुरुङ (बेल्जियम)
चिरन शर्मा (यूके)
डा. मुकुन्द बाँस्तोला (यूके)
सरस्वती केसी (यूके)
शान्ति अर्याल अधिकारी (पोर्तुगल)
सम्राट थापा (क्यानाडा)
रविन बज्राचार्य (अमेरिका)
मनिता ढुंगाना (अमेरिका)
ईश्वरी भट्ट (अमेरिका)
भुवन आचार्य (अमेरिका),
विनोद भट्ट (अमेरिका)
डा अन्जु खरेल (अमेरिका),
हेमन्त काफ्ले (अष्ट्रेलिया)
सल्लाहकारमा मनोनितहरु
अतुल कोईराला (नेपाल)
ओम गुरुङ (जापान)
चिरनजीबी ढकाल (यूके)
डा. देवि वस्नेत (कोरिया)
प्रीतम श्रेष्ठ (श्रेष्ठ)
रमेश पाण्डे (अष्ट्रेलिया)
नारायण काफ्ने (अष्ट्रेलिया)
दिनेश जोशी (अष्ट्रेलिया)
सूर्य गुरुङ (यूके)
भैरव ढकाल (अष्ट्रेलिया)
गोविन्द गौतम (रुस)
टेकराज निरौला (रुस)
हिराधन राई (यूके)
संजय थापा (अमेरिका)
शिव वरुवाल (बेल्जियम)
टिबी कार्की (कतार)
कलममणी गुरागाई (कतार)
होमनाथ शर्मा (कतार)
रमेश पाण्डे (अष्ट्रेलिया)
डा. सन्जिव सापकोटा (अमेरिका)
यमुना भट्टराई (अमेरिका)
रमेश थापा (क्यानाडा)
झाको संयोजकमा विधान र अनुशासन समिति
अमेरिका निवासी रतन झाको संयोजकमा बैठकले अनुशासन समिति गठन गरेको छ। झा एनआरएनएका पूर्व महासचिव हुन्। समितिको सदस्यमा भवानी ओली, ओम गुरुङ, नारायण काफ्ले, होम नाथ शर्मा र बिष्णु माया परियार रहेका छन्।
भूषण घिमिरेको संयोजकत्वमा विधान व्याख्या समिति गठन गरिएको छ। समितिको सदस्यमा भवानी ओली र मुकुन्द प्रसाद पौडेल रहेका छन् ।
उपाध्यक्षका भाइ केन्द्रीय सदस्य
केसी समूहले मनोनीत गरेको आइसीसी सदस्य मध्य चिरन शर्मा उपाध्यक्ष डा. हेमराज शर्माका सहोदर भाइ हुन्। नेपालमा बाग्लुङ्गका शर्मा दाजुभाइ हाल बेलायतमा बस्दै आएका छन्। चिरन लामो समय देखि पत्रकारितामा सक्रिय छन्। सदस्यमा मनोनित हेमन्त काफ्ले पनि पत्रकार हुन्। उनी अष्ट्रेलियामा बस्दै आएका छन्।
अध्यक्षका श्रीमती आइसीसी सदस्य
केसी समूहको आइसीसी सदस्यमा मनोनीत मध्ये दुई जना अध्यक्षका श्रीमती छन्। डा. अन्जु खरेल एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेकी श्रीमती हुन्। बन्जाडे परिवर्तनको नारा लगाएर दोस्रो प्रयासमा एनआरएनए अमेरिकाको अध्यक्ष जितेका व्यक्ति हुन्। ‘परिवर्तन र रूपान्तरण’ नारा चुनावको समयमा विकेको थियो।
यसै गरी अर्की सदस्य मनिता ढुङ्गाना एनआरएनए न्युह्याम्सर च्याप्टरका अध्यक्ष कमल ढुङ्गानाकी श्रीमती हुन्।
आइसीसी सदस्यमा मनोनयन डा. खरेलले आफूलाई डा. बन्जाडेको श्रीमतीको रूपमा मात्र हेरिदा अन्याय हुने बताइन्।
‘म आफै सक्षम मान्छे हु, डा. अर्जुन बन्जाडेको नाम जोड्नु पर्दैन।’ समाज टाइम्स सँग उनले भनिन्। उनले यस अगाडि आफूले आइसीसी अन्तर्गतको स्वास्थ्य कमिटीमा रहेर काम गरेको बताइन।
‘म आइसीसी हेल्थ कमिटी २०१७ मा मैले प्यानालिष्टको रूपमा काम गरेको छु, डा. सञ्जीव सापकोटाको हेल्थ कमिटीमा को चेयर भएर काम गरेकी छु, कोभिडको बेला टेली मेडिशनको सदस्य भएर काम गरेकी छु।’ डा. खरेलले भनिन्।
उनले आफ्ना लागि पतिले कुनै सिफारिस नगरेको पनि दाबी गरिन्। ‘अर्जुनले सिफारिस गरेर आइसीसी सदस्यमा परेको कहीँ कतैबाट थाहा पाउनु भयो भने म राजीनामा दिन्छु।’