राष्ट्रिय सभा चुनाव : १२ दलले चिन्ह पाए, रास्वपाले भाग नलिने

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा १२ वटा राजनीतिक दलहरुले दर्ता गरेका थिए । आयोगको आज बसेको बैठकले २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गर्दै निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने भाग नलिने भएको छ । रास्वपका सांसद सन्तोष परियारले माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने बताए । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरु राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता हुने भएकाले रास्वपाको कुनै पनि ती संरचनामा उपस्थिति नभएकाले भाग नलिएको परियारले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) एमालेले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको तालिका अनुसार पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने माघ ११ गते चुनाव हुने छ ।
वर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० जनाको कार्यकाल सकिँदै छ । जसमा १ जना राष्ट्रपतिबाट मनोनित छिन भने अरु निर्वाचित सांसद हुन् । १९ पदका लागि निर्वाचन हुने छ भने १ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्ने छन् ।
