सुदूर पश्चिम लगानी सम्मेलन : मुख्यमन्त्रीद्वारा एनआरएनएका पुर्वअध्यक्षहरु सँग परामर्श

काठमाडौँ । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन – २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरूसँग भेटघाट र छलफल तीव्र पारेको छ ।
काठमाडौँमा शनिवार सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछाने सँग लगानी तथा विकास सम्मेलनमा विषयमा छलफल भयो ।
छलफलका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एनआरएनएका पूर्व अध्यक्ष द्वय लामिछाने र महतोसँग आग्रह गरे ।
प्रदेश सरकारले लगानीका लागि आवश्यक नीति र वातावरण बनाउने आश्वस्त पार्दै मुख्यमन्त्री शाहले सुदूर पश्चिममा लगानी गर्न आग्रह गरे ।
उनले पूर्व अध्यक्ष द्वय लामिछाने र महतोलाई फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनमा सहभागी हुन आग्रह गरे ।
एनआरएनएका पूर्व अध्यक्ष एवं सानिमा ग्रुपका अध्यक्ष लामिछानेले सुदूरपश्चिममा आफ्नो समूह लगानी गर्न तयार रहेको र त्यसका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे ।
एनआरएनएका संस्थापक अध्यक्ष तथा मेडसिटी अस्पतालका अध्यक्ष डा. महतोले पनि सुदूरपश्चिममा लगानी गर्ने प्रतिबद्धता गरे ।
मुख्यमन्त्रीको निमन्त्रणा स्वीकार गर्दै पूर्व अध्यक्ष द्वय लामिछाने र महतोले लगानी तथा विकास सम्मेलनमा सहभागी हुने जानकारी गराए ।

लगानी तथा विकास सम्मेलनका लागि अन्तर्राष्ट्रिय संयोजक हिक्मत थापाको संयोजनमा आयोजित छलफलमा सुदूर पश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही समेत सहभागी थिए ।
यसअघि मुख्यमन्त्री र गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेबिच पनि लगानी तथा विकास सम्मेलनका सम्बन्धमा छलफल भएको थियो । छलफलमा डा. घलेले सहभागीताका लागि निमन्त्रणा स्वीकार गर्दै उपयुक्त प्रोजेक्टहरू पहिचान गर्दै लगानीकर्ता बिच प्रस्तुत गर्न सुझाव दिएका थिए ।