अमेरिकामा नेपाली भाषी भुटानी जोडीले पाएको यो सफलता, अन्यका लागि पनि बन्ने छ ‘प्रेरणा’

पेन्सिल्भेनिया, अमेरिका / डिसेम्बर दुई तारिख अमेरिकाको न्यु योर्क राज्यको सिराक्यूज सहरमा ३९ औँ जन्मदिन मनाएका विकास रेग्मीलाई कहिले काहीँ सपना जस्तै लाग्छ, आफ्नो जीवनलाई कोट्याउँदा।
पछिल्लो सय दिन यता उनको दैनिकी पुरै फेरिएको छ। बिहान आठ बज्दा नबज्दै उनी क्लिनिक पुग्छन्। दिउँसो साँढे चार बजे सम्म बिरामीहरूको स्वास्थ्य परीक्षणमा व्यस्त हुन्छन्।
विकासलाई दैनिक १५ देखि १७ जना सम्म बिरामीको कुरा सुन्नु पर्ने हुन्छ। उनीहरूका विभिन्न ल्याब रिपोर्टको अध्ययन गर्नु पर्छ, त्यस पछि बिरामीले लिँदै आएको औषधीको बारेमा समीक्षा गर्नु त्यसको मात्रा मिलाउनु पर्छ।
सबै भन्दा ठुलो कुरा रैथाने बिरामीको विश्वास जित्नु पर्छ। उनीहरूलाई ‘ढुक्क’ बनाउनु पर्छ। बेलुका सुत्नु अगाडि जब दिन भरी आफूले गरेका कामको समीक्षा गर्दै गर्दा कहिलेकाहीँ विकासलाई लाग्छ के म बिपना मै छु?
‘कहाँ बाट यहाँ आइयो,संघर्ष गरियो, अहिले सात आठ जना कर्मचारी राखेर काम गर्नु पर्छ, लरो तरो होइन बिरामीलाई सन्चो बनाउनु पर्छ।’ आफ्नो अतीत देखि वर्तमानलाई विकास एक लाइनमा यसरी सुनाउँछन्। ‘सोचे भन्दा धेरै छिटो ग्रो भएको छ मेरो जीवन।’
हुन पनि विकास र उनीकी धर्मपत्नी कुमारीको अतीत जीवन कठोर सङ्घर्षपूर्ण, अन्योल पूर्ण थियो तर वर्तमान चैँ लोभलाग्दो छ।

भुटानको सरबङ्ग लेउपानीमा जन्मिएका विकास ६ वर्षको हुँदा अन्य नेपाली भाषी सँगै खेदिएका थिए। आमाबाको हात समाउँदै, बुई चढ्दै जसोतसो नेपाल आइपुगे। पूर्वी नेपालको शरणार्थी शिविरको जीवन शैलीको बयान यहाँ गरी रहनु परेन।


बिर्सन लायक १७ वर्षको नेपाल बसाई पछि सन् २००९ मा विकास अमेरिका आएका हुन्। कुमारी पनि सोही वर्ष। ‘राष्ट्रपति बराक ओबामाले दोस्रो कालका लागि पदभार ग्रहण गरेको दिनमा मैले अमेरिका पाइला टेकेको हो।’ कुमारीलाई त्यो दिन अझै झलझली याद छ, सपनाको मुलुक अमेरिका भित्रँदाको।
भुटानमै जन्मिए र १७ वर्ष नेपाल बसेको भए पनि विकास र कुमारी बीचको भेट अमेरिका आए पछि भएको हो।
नेपालमा रहँदा क्याप्पमा स्वास्थ्य सम्बन्धी समस्या टट्कारो थियो। दुबैलाई लागेको थियो होइन यो क्षेत्रमा केही गर्नु पर्छ। अमेरिका आए पछि उनीहरूले नर्सिङकै पढाई रोजे।
अध्ययनको क्रममा भेटिएका उनीहरू सुरुमा साथी मात्र थिए। तर सन् २०१२ मा जीवन साथी नै बने।
दुवै जनाको पढाइको विषय एउटै थियो, पढाइ मात्र होइन विचार पनि मिल्यो। सुरुमा नर्स पढेका यो जोडी अहिले दुवै जना नर्सप्राक्टिसनर छन्। नर्सप्राक्टिसनर डाक्टर नै त होइन तर झन्डै झन्डै डाक्टरले गर्ने प्रायशः सबै काम गर्न पाइन्छ।
यिनीहरूको काम चिराफारा बाहेक डाक्टर सो सरह नै हो। बिरामी जाँच्ने, ल्याब अडर गर्ने र औषधी सिफारिस गर्ने काम डाक्टरले जसरी नै गर्न पाइन्छ।
सेप्टेम्बर ६ तारिख न्यु योर्क राज्यको तेस्रो ठुलो सहर सिराक्यूजमा उनीहरूले प्राइमरी हेल्थ क्लिनिक (क्यारिङ्ग फ्यामेली हेल्थ) खोलेका छन्। जुन क्लिनिकले आज (डिसेम्बर १६ तारिख) एक सयौँ दिन पुरा गरेको छ।
अहिले सम्म पाँच सय ६५ जना बिरामीले उनको क्लिनिकमा साइन अप गरेका छन्। एक वर्ष भित्रमा यो सङ्ख्या १२ सय पुर्याउने लक्ष्य रेग्मी जोडीले लिएका छन्।
‘एक जना नर्सप्राक्टिसनरले वर्षमा एक हजार भन्दा बढी बिरामी लिन सक्छ, अर्को वर्ष सम्म कुमारीले पनि यही क्लिकमा काम गर्ने हो।’ विकास भावी योजना सुनाउँछन्। हाल अर्कै स्वास्थ्य संस्थामा कार्यरत कुमारीले आवश्यक परेको बेला श्रीमानलाई सघाउँदै आएकी छिन्।
नर्सप्राक्टिसनरमा विकास र कुमारीको जोडी अमेरिकामा रहेको नेपाली भाषी भुटानी समाजमा सम्भवतः पहिलो हो।
‘अमेरिकामा अवसर धेरै छ, दुख गरौँ, काम गरौँ, आफ्नो व्यवसायमा पनि उभिन सकिन्छ।’ दुई छोरी र एक छोराका मातापिता रेग्मी जोडी भन्छन्। ‘यहाँ धेरै मौका छ यसलाई सदुपयोग गरौँ।’
अमेरिकामा हताश नहुन र मेहनत गर्न नछोड्न कुमारीको सुझाव छ। ‘हामीले पनि दुखै गरेर पढेका हौ, काम गर्दै, बच्चा हुर्काउँदै पढाइको कोर्स पुरा गरेकी हुँ म अरूलाई पनि सुझाव दिन्छु एकाध वर्ष अलिकति मेहनत गर्ने हो भने हामी राम्रो गर्न सक्छौ।’
विकास र कुमारीले फ्यामेली हेल्थ केयर सँगै भविष्यमा समुदायका ज्येष्ठ नागरिकहरूका लागि पनि काम गर्ने योजना बुनेका छन्।
उनीहरूले अमेरिकामा नर्स, नर्सप्राक्टिसनरको अध्ययन र स्वास्थ्य सम्बन्धी अन्य कुनै सल्लाह सुझावका लागि आफूहरूलाई सम्पर्क गरे सहयोग गर्ने बाचा पनि गरेका छन्। (रेग्मी परिवार सँग सम्पर्क गर्न यहाँ क्लिक गर्नु होला)
रेग्मी जोडी सँगको समाज टाइम्स संवाद