भारत र पाकिस्तानको टी २० विश्वकपको खेल न्यूयोर्कमा हुन सक्ने

पेन्सिल्भेनिया । आगामी वर्ष हुने टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनसक्ने भएको छ । यस सम्बन्धमा एउटा समाचार द गार्डियनमा प्रकाशित भएको छ । यस वर्षको जुन ४ देखि जुन ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा टी–२० विश्वकप हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र न्यूयोर्कको स्थानीय कमिटीबीच आज (शुक्रबार) बस्ने बैठकपछि यसबारे निर्णय हुन सक्ने प्रतिवेदनले जनाएको छ ।
रिपोर्टका अनुसार न्युयोर्कको बाहिरी भागमा विश्वकप आयोजना गर्न अस्थायी स्टेडियमको तयारी भइरहेको छ । यसमा ३४ हजार मानिसको सिट क्षमता हुनेछ ।
टी–२० विश्वकपका लागि अमेरिकाका तीन स्थान छनोट भएका छन् । भारत–पाकिस्तान म्याच न्यूयोर्कमा आयोजना गर्नुको मुख्य कारण हालै गरिएको सर्वेक्षण हो । सर्वेक्षणका अनुसार यहाँ ७ लाखभन्दा बढी भारतीय र करिब एक लाख पाकिस्तानी मूलका मानिस बस्छन् । यस्तो अवस्थामा भारत–पाक खेलले यहाँ राम्रो फिडब्याक पाउनेमा आयोजक आशावादी छन् ।
युगाण्डाको जितसँगै टी–२० विश्वकपमा सहभागी सबै २० टोलीको टुङ्गो लागेको छ । यसका लागि एसियाली क्षेत्रबाट नेपाल र ओमान छनोट भएका छन् भने अफ्रिकाबाट युगान्डा र नामिबियाले विश्वकपको टिकट पाएका छन् । वेस्ट इन्डिज र अमेरिका आयोजक भएकाले छनोट भएका थिए भने इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंकाले २०२२ को पछिल्लो टी–२० विश्वकपमा टप–८ मा परेर आफ्नो स्थान सुरक्षित गरेका थिए । अफगानिस्तान र बंगलादेश १४ नोभेम्बर २०२२ को वरीयताबाट छनोट भएका छन्।
अमेरिकामा टी–२० विश्वकप आयोजना गर्नुका पछाडि आईसीसीसँग दुईवटा महत्वपूर्ण कारण छन् ।
पहिलो: उत्तर अमेरिकामा क्रिकेट द्रुत गतिमा फैलिरहेको छ। यहाँ बलियो पकड स्थापित गर्न आईसीसीले यो कदम चालेको हो ।
दोस्रो: अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) ले क्रिकेटलाई २०२८ लस एन्जलस ओलम्पिक खेलहरूमा समावेश गरेको छ।
२० टोलीलाई ५ टोलीको ४ समूहमा विभाजन गरिनेछ। समूह चरणमा ४० खेल हुनेछन् । सबै समूहका शीर्ष २–२ टोली सुपर–८ चरणमा पुग्नेछन्, यस चरणमा १२ खेल हुनेछन् । सुपर–८ का शीर्ष २ टोली पनि सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल ३० जुन २०२४ मा सेमिफाइनलका विजेता टोलीहरूबीच खेलाइनेछ। प्रतियोगितामा २७ दिनभित्र २ सेमिफाइनल, १ फाइनल र समूह चरणका ५२ खेल गरी कुल ५५ खेल हुनेछन् ।